मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल किसान समितिको आयोजनामा शुक्रबार संघको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समितिले विगतका वर्षदेखि निरन्तर रुपमा रक्तदान कार्यक्रम गर्दै आएको र यस पटक ६७ प्वाइन्ट रगत संकलन भएको समितिले जनाएको छ । रक्तदान कार्यक्रम संयोजक झविन्द्र खनालले कपिलवस्तु जिल्लामा रगत नपाएर कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर नै कार्यक्रमलाई निरन्तता दिइएको बताउनुभयो । खनालले हामी यस क्षेत्रमा रगत अभाव हुन दिदैनौं, कपिलवस्तुका साथीहरुले रक्तदान गर्नुपर्छ भन्ने भावना हामीले जागृत गराएर छाड्छौं ।
संघका अध्यक्ष मधु अर्यालले आमाको आँशुले उनको बच्चालाई बचाउन सक्दैन तर तपाईको एक थोपा रगतले सक्छ’ भन्दै रक्तदान बढी भन्दा बढी गराउन जनचेतना जगाउने उद्देश्य र रगत अभाव हुन नदिन संघले रक्तदान गरेको बताउनुभयो । रक्तदान गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघका सचिव मनोज पौडेले पछिल्लो समय रगतको माग बढिरहेको भन्दै रगतको अभाव हुन नदिने यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । त्यस्तै उद्योग संघका कोषाध्यक्ष मोहन न्यौपानेले स्वस्थ मान्छेले रक्तदान गर्दा कुनै हानी नोक्सानी नहुने भएकाले आफूले रक्तदान गरेको बताउनुभयो । नेपाल किसान ट्रेक्टर समितिका कोषाध्यक्ष विष्णु गरीले रक्तदान गर्दा अर्को मानवको प्राण बच्न सहयोग पुग्ने हुँदा आफूले रक्तदान गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासले रगतको अभाव हुन नदिन समय समयमा यस्ता खालका कार्यक्रमहरु हुनु पर्ने र रक्तदान गर्दा आफ्नो शरीरलाई पनि फाइदा पुग्ने भएकोले रक्तदान गर्न डराउनु नपर्ने बताउनुभयो ।
कार्यक्रममा रक्तदाताहरुलाई सम्मान गरिनुका साथै सम्मान पत्र प्रदान गरिएको थियो । रक्तदानको लागि प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीले गरेको थियो । कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक झविन्द्र खनालले गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष विष्णु गिरीको रहेको कार्यक्रमको संचालन अध्यक्ष मधु अर्याले गर्नुभएको थियो ।
प्रतिक्रिया