८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

दसैंसम्मै वर्षा हुने



काठमाडौँ ।
यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पर्थ्यो त्यो वातावरण अनुकूल देखिँदैन । तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ तर अहिले पूर्वी वायु नै सक्रिय रहेकाले मनसुनको समयावधि लम्बिएको मौसमविद् समिर श्रेष्ठले बताए ।
’केही दिनयता निरन्तर रुपमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दसैंसम्म नै मनसुन रहने सम्भावना देखिएको हो,’ उनले भने। पश्चिमी वायु सक्रिय भएलगतै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ ।
सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्थ्यो तर यसवर्ष १० दिन ढिलो गरी मनसुन भित्रिएको थियो । गतवर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभएपनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । सो अनुसार दसैंको शुरुआती दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।
हाल देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरेहको महाशाखाले जनाएको छ। यो स्थिति शनिबारसम्म यथावत रहने बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.९ डिग्री र अधिकतम् तापक्रम २५.६ डिग्री सेलिसयस रहेको छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  १० : ३३ बजे