मायादेवी अनलाइन, कपिलवस्तु ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो एटीएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने भएको छ । बैंकका एटीएम बुथबाट रकम चोरी हुने क्रम बढेपछि राष्ट्र बैंकले सबै बैंक वा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो ।
एटीएम बुथबाट रकम चोरी हुने गरेका घटना वृद्धि भएपछि २४सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिइएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिनुभयो ।
‘बैंक वा वित्तीय संस्थाका एटीएम बुथबाट रकम चोरीलगायतका अनधिकृत घटना बढेका छन्, त्यहाँ सुरक्षा चुनौति देखियो, त्यसैले बैंक वा वित्तीय संस्थालाई आफ्नो एटीएम बुथमा २४सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिइएको हो,’ कार्यकारी निर्देशक मिश्रले भन्नुभयो ।
एटीएम बुथहरुको विशेष निगरानी गर्न राष्ट्र बैंकले बैंक वा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यस्तै, एटीएम बुथहरुमा कुनै पनि व्यक्ति वा समूहबाट संकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी वा निकायमा तत्काल सूचित गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।
प्रतिक्रिया