मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु अस्पतालमा नयाँ भवनबाट सेवा प्रारम्भ गरिएको छ । पाँच बर्ष लगाएर बनाईएको नयाँ भवनबाट सेवा सुरु गरिएको छ । शहरी तथा भवन डिभिजन कार्यालय रुपन्देहीले २ महिना अघि वडा कार्यालय मार्फत नव निर्मित भवन हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको २ महिना पछि नयाँ भवनबाट सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले बताए । भवन निर्माण सुरु भए पछि बिगत ५ बर्ष देखि ठेकेदार कम्पनी एम के निर्माण सेवाले बनाएको टिनको छानाको स– साना कोठमा सेवा दिईएको थियो ।
तीन बर्षमा निर्माण गर्नु पर्ने भवन ठेकेदार कम्पनीले ५ बर्ष बढी समय लगाएर बनाएको थियो । ५० शैयाको अस्पताल भवन निर्माण ६ वटा ब्लकमा गरिएको हो । इन्डोर सेवा भने ४५ बर्ष पुरानो भवनमा संचालन गरिएको थियो । टिकट कान्उटर, ओपीडी सेवा, ल्याब, एक्सरे, ईमरजेन्सी, इन्डोर लगायतका सबै सेवाहरु नयाँ भवनमा सुचारु गरिएको मेसु बन्जाडेले बताए । ‘ टिनको टहरमा बिरामीहरुको उपचार गर्दा धेरै कठिनाई भएको थियो’ बन्जाडेले भने ‘अब भने बिरामी र स्वास्थ्यकर्मी दुबैलाई सहज भएको छ’ ।
१२ करोड ६ लाख लागतको भवन निर्माणमा ढिलाई हुँदा ठेकेदार कम्पनीलाई ५ करोड घाटा लागेको उनले दाबी गरे । अस्पतालको नयाँ भवन सुबिधा सम्पन्न रहेको छ । भारतीय सरकारको सहयोगमा ४५ बर्ष अघि निर्माण गरिएको अस्पतालको पुरानो संरचनालाई भत्काएर नयाँ अस्पताल निर्माण गरिएको हो । नयाँ भवनमा प्याथोलोजी, आई.सि.यु., अल्ट्रासाउन्ड, ईसीजी, एक्सरे, बिभिन्न रोगको माईनर र मेजर अपे्रशन सेवा, ल्याव लगायतका लुम्बिनी अस्पतालको हाराहारीमा सेवा सुबिधा हुने गरी बनाईएको छ ।
प्रसुति सम्बन्धी सबै सेवाहरु डेन्टल, आईसीयु, पुरुष र महिलाका लागि १२ बेड भएको ३ रिकभरी वार्ड छन् । ओपीडी सेवामा गायनाक्लोजीष्ट, आँखा, सर्जिकल फिजीसिएन, फार्मेसी, एचआईभी एड्स र भीसीडी, डट्स, फार्मेसी समेत छन् । अस्पतालमा इमरजेन्सी सेवा, प्याथोलोजी, सीओसी प्रसुति सेवाहरु तथा रेजिस्टेन्ट र एकाउन्ट सेक्सन छ । नयाँ भवनमा लिफ्टको सुबिधा तथा बहुउद्देश्य किसिमकोे छ । माथिल्लो तलामा प्रशासन, बहुउद्देश्यीय तालिम हल, लन्ड्री, कपडा सुकाउने ठाउँ छ ।
९ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया