मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढेको समाचार मायादेवी अनलाइनमा प्रकाशित भएपछि चोरी निकासी नियन्त्रणमा नगरपालिका र प्रहरीले सक्रियता बढाएका छन् । नगरका बिभिन्न नदीहरुबाट ब्यापक रुपमा ढुङ्गागिटी, बालुवा चोरी भएको भन्ने जनगुनासो आएपछि बाणगंगा नगरपालिका र इलाका प्रहरी कार्यालयले सक्रियता बढाएका हुन् ।
यसै क्रममा विहीबार बाणगंगा नदीका बिभिन्न क्षेत्रमा अनुगमन भएको छ । नगरका मेयर मंगल प्रसाद थारु, उपमेयर चक्र अर्याल र इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक आयुष प्रसाद जोशी लगायतको टोलीले बाणगंगाका उप्टहवा, राजपुर, मधुवन कजवेह र लक्ष्मणघाट क्षेत्रमा अनुगमन गरेका छन् । अनुगमनका क्रममा अधिकांश बाहेक केही केही स्थानमा बालुवा डम्पिङ गरेर राखिएको भेटिएको नगर उपप्रमुख चक्र अर्यालले जानकारी दिनुभयो ।
अनाधिकृत तरिकाले डम्पिङ गर्ने ब्यक्ति र सवारी धनीलाई कारबाही गर्ने पनि उहाँले जानकारी दिनुभयो । बाणगंगा नदीमा नदीजन्य पदार्थको ब्यापक रुपमा चोरी निकासी भएको कुरा मिडिया र जनताबाट बाहिर आउँदा त्यसले आफुहरुलाई दुखि बनाएको भन्दै यसलाई नियन्त्रण गर्न अनुगमन गरिएको नगर उपप्रमुख अर्यालले बताउनु भयो । उहाँका अनुसार अब यस्ता गुनासाहरु जनताले सुन्न नपर्ने गरी नगरपालिकाले काम गर्ने बताउँदै प्रहरीलाई पनि यस विषयमा चनाखो बन्न पुनः आग्रह गरिएको छ ।
यो पनि पढ्नुहोस
प्रहरीकै ‘सेटिङ’मा वाणगंगाको बालुवा तस्करी, खवर गर्दा पनि सुन्दैन पिपरा प्रहरी !
यस्तै इलाका प्रहरी कार्यालय पिपराले पनि नदीजन्य पदार्थको चोरीमा अब आफूहरु निर्मम बन्ने बताएको छ । बाणगंगा खोलाको अनुगमनको क्रममा विहीबार प्रहरी निरिक्षक जोशीले गैरकानुनी ढंगले नदीजन्य पदार्थको दोहन गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिने पनि बताउनु भएको छ । नदीजन्य पदार्थको चोरी सम्बिन्धि गुनासो स्वाभाविक भएकाले अब आफूहरुले परिणाम आउने गरी काम गर्ने बताउनुभयो ।
यदि कसैले नियम विपरित बालुवा गिट्टी चोरी निकासी गरेमा सवारी साधन जफत गर्ने र ५० हजारसम्मको जरिवाना तिराउने उहाँले बताउनु भयो । यसअघि नदीजन्य पदार्थ चोरी गर्नेहरुलाई २५ हजार जरिवाना गर्ने गरिए पनि अब ५० हजारसम्म जरिवाना गर्नुपर्ने प्रस्ताव आफुले नगरपालिकामा राखेको उहाँले बताउनु भयो ।
प्रहरीले आगामी दिनमा शंकास्पद स्थानहरुमा विशेष गस्ती गर्ने पनि जोशीले बताउनु भयो । यसअघि बाणगंगाका बिभिन्न नदीमा ढुंगा, बालुवा र गिटीको अत्याधिक चोरी निकासी बढेको भन्दै जनताले आक्रोश पाखेका थिए ।
प्रतिक्रिया