८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रुपन्देहीमा हेलमेटले टाउकोमा हानेर ६ लाख रुपैयाँ लुटियो



रूपन्देही ।
रूपन्देहीको भैरहवा लुम्बिनी सडकखण्डमा एक जनासँग ६ लाख रुपैयाँ लुटिएको छ।रूपन्देहीको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठीको साथमा रहेको ६ लाख रुपैयाँ दुई जना लुटेराले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
त्रिपाठी बिहीबार बिहान रिलायन्स सिमेन्ट उद्योगको भैरहवास्थित कार्यालयबाट लुम्बिनी रोडमा रहेको उद्योगमा मोटरसाइकलमा जाँदै थिए। त्रिपाठीलाई हेल्मेटले टाउकोमा हानी पैसा लिएर गएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।
‘रकम लुटिएको भन्ने जानकारी आएको छ विस्तृत विवरण आइपुगेको छैन, प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ,’ उनले भने ।यसअघि गत भदौ २९ गते अज्ञात समूहले रूपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मीलाई गोली प्रहार गरी ५ लाख रुपैयाँ लुटेको थियो।
भैरहवास्थित हिमालयन बैंकबाट रकम निकालेर श्रीमती र बच्चासहित लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका कुर्मीलाई रोहिणी गाउँपालिका वडा नं. ३ स्थित रोहिणी खोलानजिकै गोली प्रहार गरिएको थियो। गोली लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  ६ : ३७ बजे