८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अर्घाखाँचीमा बेरुजु फछ्यौट गर्न नागरिकस्तरबाट दबाब



अर्घाखाँची ।
अर्घाखाँची जिल्लाका स्थानीय तह र सरकारी कार्यालयको एक वर्षको बेरुजु १५ करोड ९६ लाख रुपैयाँ रहेको छ । महालेखा परीक्षकको प्रतिवेदन तथा कोलेनिका अर्घाखाँचीका अनुसार जिल्लाका स्थानीय तह र सरकारी कार्यालयको गत आर्थिक वर्ष २०७४/७५ मा बेरुजु १५ करोड ९६ लाख ९४ हजार २ सय २१ रुपैयाँ ४५ पैसा रहेको छ । यस वर्षको आन्तरिक लेखा परीक्षक सुरु भएको छ ।
जसमा ६ स्थानीय तहको मात्र पनि ५ करोड ३८ लाख ८९ हजार ५९ रुपैयाँ ४५ पैसा रहेको छ । यति धेरै बेरुजु रहनुले जनताको स्थानीय तहलाई हेर्ने दृष्टीकोण नकारात्मक बनेको छ । जिल्लामा देखिएको बेरुजुमध्ये मालारानी गाउँपालिकाले १५ लाख, भुमिकास्थानले ४७ हजार ४४ रुपैयाँ फछ्यौट गरेको भएपनि अन्य तहमा भने यसम्बन्धमा खासै पहल चालेको छैन ।
हरेक वर्षझै महालेखा परीक्षकको कार्यालयले देशभर बेरुजूको अवस्था भयावह रहेको रिपोर्ट सार्वजनिक गर्दा समेत संसदको लेखा समिति र अन्य सरोकारवाला निकायले बेरुजु उठाउने वा व्यवस्थापन गर्ने सम्बन्धमा खासै चासो देखाएको छैन ।
जनताले पसिना काढेर कमाएको पैसाबाट तिरेको करलाई सार्वजनिक पद धारण गरेकाले जथाभावी खर्च गरिदिँदा वा नियम अनुसार नहुँदा पनि संसद र सम्बन्धित निकाय मौन रहनु उनीहरुमा जनताप्रतिको जवाफदेहिता नहुनु हो । जिल्लामा रहेका नागरिक समाजले सरकारी कार्यालमा बेरुजुको अधिक समस्या रहेको भन्दै तत्काल कदम चाल्न जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण गराएको हो ।
एकीकृत ग्रामीण विकास समाज तथा पारस्परिक जवाफदेहिता परियोजनाअन्र्तगत जिल्लाका नागरिक समाज संस्थाको सञ्जालले अर्घाखाँची जिल्लाका सबै सरकारी कार्यालयको २०७४/०७५ को बेरुजु १५ करोड ९६ लाख ९४ हजार २ सय २१ रुपैयाँ ४५ पैसा रहेको भन्दै यसले स्थानीय सरकार तथा सार्वजनिक निकायलाई हेर्ने दृष्टीकोणमा समेत फरक आएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसालले नागरिक समाजले समासामयीक तथा जल्दो बल्दो सवाल उठाएको भन्दै जिल्लाका स्थानीय सरकार र अन्य संघीय कार्यालहरुमा देखिएको बेरुजु फछ्यौट गर्न लागि पर्ने बताए । उनले बेरुजु नै नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै आइसकेको बेरुजुलाई यथाशिघ्र फट्यौट गर्नुपर्नेमा जोड दिए ।
ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले विभिन्न कार्यालयमा देखिएको बेरुजुलाई शून्यमा झार्न समन्वय गर्ने बताए । उनले कार्यालय प्रमुखसँगको बैठकमा समेत यस बारेमा छलफल भएको भन्दै शुन्य बेरुजुको अभियानमा लागिरहेको बताए।

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  ८ : ४४ बजे