८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुमा मुहान कप फुटवल सुरु, लव नेपालको विजयी सुरुवात



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा-३ मा बुधबारबाट सुरु भएको मुहान कप जिल्ला स्तरीय फुटवलमा लभ नेपाल पिपराले विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा लभ नेपालले धनकौली एफसीलाई ७–० गोल फराकिलो अन्तरले पराजित गरेको हो । लभ नेपालका २ खेलाडीले ह्याट्रिक गरेका छन् । पहिलो हाफमा नै लभ नेपालको लागि जर्सी नम्बर १५ का शेर बहादुर कार्कीले गोल गर्दै अग्रता दिलाए । उनले पहिलो हाफमा नै ह्याट्रिक गरे भने दोश्रो हाफमा थप १ गोल गरे । त्यस्तै जर्सी नम्बर ७ का अर्जुन विकले ३ गोल गरेका हुन् ।
बिहिबार २ वटा खेल हुने छन् । पहिलो खेलमा दिउँसो १ बजे सनराइज एफसी मोतिपुर र जनप्रेमी युवा क्लवले प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोश्रो खेलमा अपरान्ह ३ बजे तीन एफसी र बनकट्टीको बुद्ध एफसी भीड्ने छन् ।
प्रतियोगितामा जम्मा १४ टिमले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा प्रमुख अतिथि विष्णु पन्थी र विशिष्ट अतिथि मेयर मंगल थारुले बोल्नुभएको थियो । मुहान युवा क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव कृष्ण अर्यालले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन चन्द्रकान्त न्यौपानेले गर्नुभएको हो ।
यसपटक प्रतियोगिताको पुरस्कार राशी पनि बढाइएको छ । विजेताले नगद ६० हजार शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टोलीले ३० हजार शिल्ड र प्रमाण पत्र पाउने छ । यस्तै अन्य २ सेमिफाइनलिस्ट टोलीलाई नगद पुरस्कारको ब्यवस्था गरिएको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनले प्रतियोगिताभरका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोल किपरलाई ट्रफी र मेडलले सम्मान गरिने छ भने हरेक खेलमा उत्कृष्ट खेल पस्कनेलाई पनि म्यान अफ दि म्याचको पुरस्कार राखिएको छ । खेल राष्ट्रिय स्तरका रेफ्रिहरुले खेलाउने छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६ बुधबार ००:००  १० : २६ बजे