८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बाँकेमा समुदायसँग मिलेर दशैँ मनाइने



नेपालगञ्ज ।
हिन्दूहरुको महत्वपूर्ण पर्व दशैँको बाँकेमा छुट्टै विशेषता छ । यो जिल्लाका नागरिकले आ–आफ्नो घरघरमा मात्र होइन समुदायसँग मिलेरसमेत दशैँ मनाउने गर्दछन् । समुदाय मिलेर टोलटोलमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने पुरानो परम्परा अद्यापि कायमै छ । टोलको सौन्दर्यकरण गरेर नवदुर्गाको मूर्ति स्थापना गरी श्रद्धालु भक्तजनद्वारा दशँै अवधिभरि विधिवत् पूजाअर्चना हुने गर्दछ । यसरी राखिएको देवीका मूर्ति द्वादशीका दिन जिल्लाको राप्ती नदीमा विसर्जन गरिन्छ ।
नवदुर्गा भवानीको आकर्षक मूर्ति भारतबाट ल्याउने गरिएको छ । नेपालगञ्जका केही मूर्तिकारले पनि केही वर्षयता मूर्ति बनाउने गरेका छन् । नेपालगञ्जका मूर्तिकारलाई अहिले मूर्ति बनाउन भ्याइनभ्याइ छ । कलात्मक दुर्गा भगवतीको मूर्ति दशैँको करीब एक महीना अघिदेखि नै बनाउने गरेको मूर्तिकार बताउछन । मूर्तिकार अङ्कित मिश्रले ८० वटा मूर्ति बनाउने जिम्मा लिनुभएको बताउनुभयो । “मूर्ति बनाउन समय धेरै लाग्ने भएकाले सक्ने जति मात्र जिम्मा लिने गरेका छौँ”, मिश्रको भनाइ छ ।
जिल्लाको गाउँबस्तीमा र नेपालगञ्जको टोलटोलमा राखिने नवदुर्गा भवानीको मूर्तिमा व्यक्तिगत र सामूहिक पूजापाठ, यज्ञ, होमलगायत नवरात्रि विशेषका कर्मकाण्ड हुने पण्डित भीमप्रसाद आचार्यले बताए । यो जिल्लामा दशँैको अर्को विशेषतामा नवरात्रि (घटस्थापना) देखि रामलिला मञ्चन गर्नु पनि हो । भगवान् रामको जीवन चरित्रमा आधारित रामलिला दशैँको टीकाका दिन रावणको बध गरेर समाप्त हुने गर्दछ । रामलिला प्रदर्शनका लागि रामलिला व्यवस्थापन समितिसमेत गठन गरिसकिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६ बुधबार ००:००  ७ : ११ बजे