गुल्मी ।
गुल्मीका स्थानीय तहले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा जिल्लाका स्थानीय तहले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेका हुन् । धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ मा २५ लाख रुपैयाँ राजस्वको लक्ष्य लिएको थियो।
उसले २६ लाख ८७ हजार ७६० रुपैयाँ राजस्व संकलन गरेको छ। ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् गाउँपालिकाका आम्दानीका मुख्य स्रोत हुन् । त्यसबाहेक मालपोत कर, सिफारिस, व्यवसाय करलगायतका पनि आम्दानीका स्रोत भएको सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्ष ३३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
कालीगण्डकी गाउँपालिकाले गत आर्थिक वर्ष १५ लाख रुपैयाँ राजस्वको लक्ष्य लिएकोमा ३१ लाख रुपैयाँ संकलन गरेको छ । गाउँपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, कवाडी सामानको निकासीलगायत शीर्षकमा राजस्व संकलन गर्दछ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि २५ लाख आन्तरिक आम्दानीको लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।
मदाने गाउँपालिकाले गत आर्थिक वर्षमा १२ लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य लिएको थियो। गाउँपालिकाले १५ लाख ८१ हजार ६७५ रुपैयाँ संकलन गरेको छ । संकलित रकममध्ये सिसाजन्य कवाडी सामग्रीबाट २ लाख, टेलिकमको टावरबाट ४० हजार ५०० रुपैयाँ संकलन भएको छ ।
८ आश्विन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया