दाङ ।
राप्ती आँखा अस्पताल दाङबाट डेढ लाख बढीले आखाँको नयाँ दृष्टि पाएका छन् । आँखा अस्पताल र यसअन्तर्गत सञ्चालित उपचार केन्द्रहरुबाट एक लाख ६६ हजार सात सय २ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । तीमध्ये ३४ हजार ३२ जनाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए ।
अस्पतालले दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, आँखा उपचारसम्बन्धी सचेतना तालिम सञ्चालन गर्नुका साथै राप्तीमा रहेको ०.८७ प्रतिशत अन्धोपनलाई घटाएर हाल ०.१३ प्रतिशतमा ल्याउन सफल भएको प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।
अस्पतालले २९ बर्षको अवधिमा २५ लाख ४६ हजार १ सय ८७ जनालाई आँखा उपचार सेवा उपलब्ध गराएको छ । जसमध्य तीन वटा आँखा अस्पतालबाट १७ लाख ४३ हजार ५ सय ४ जनालाई उपचार सेवा उपलब्ध गराएको हो ।
त्यस्तै विभिन्न दुर्गम स्थान र विद्यालयमा आँखा जाँच कार्यक्रम आयोजना गरि ३ लाख ८३ हजार १ सय २३ जना र आँखा उपचार केन्द्रबाट ४ लाख १९ हजार ५ सय ६० जनालाई आँखा उपचार सेवा दिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत थापाले जानकारी दिएका छन ।
अस्पतालले पछिल्लो समयमा स्थानीय तहहरुसंग साझेदारी कार्यक्रम सञ्चालन गरी विपन्नहरुलाइ मोतियाविन्दुको निःशुल्क शल्यक्रियामा सहयोग गर्दै आएको बताएको छ ।
प्रतिक्रिया