८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

राजनीतिमा भक्तहरूले तानाशाह नजन्माउन



सञ्जय पन्थी ।
पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठसँग केही दिनअघि मात्र देशका बारेमा समसामयिक छलफल भयो । उनले हामीकहाँ प्रजातन्त्र वा लोकतन्त्रको अभ्यास गरिएको करिब ३० वर्ष पुगेको तर्क गर्दै सिंगापुरसँग दाँजे । त्यहाँ सन् १९६५ मा ली क्वान यु सत्तामा आएको प्रसंग सुनाउँदै उनले त्यसयता उक्त मुलुकले विकासमा मारेको फड्कोबारे उदाहरणसहित प्रस्तुत गरे । सिंगापुर अहिले कहाँ पुगिसक्यो ? मुलुकलाई सिंगापुर बनाउने भाषणबाजी यहाँ पनि निकै भयो । तर त्यसले मूर्त रूप लिनै पाएन । किनकि नेताहरूमा देश विकासको सोच नै भएन । यसैमा रमणको चिन्ता थियो ।
यस्तो सोच न जीवन नाफाको भन्नेहरूको भयो न सन्तानको चिन्ता बिनाका निश्चिन्तहरूको भयो । देश विकासको सम्भावना राजनीतिको यो पुस्ताबाट देख्न छाडिसकेको उनले बताए । अहिलेको नेतृत्वले आसेपासे (भक्त) मात्र जन्माए । उनीहरूको सोच र व्यवहार पनि उनीहरूभन्दा पृथक् छैन । उनको यही निष्कर्ष थियो ।
‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायकपूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । नेतृत्व अधिनायकवादी बन्ने खतरा सधैं रहन्छ,’ आरबी अम्बेडकरले भनेका छन् ।
धार्मिक संगतिमा भक्तहरूको जन्मले गुरुको प्रसिद्धि बढ्छ । त्यस्ता गुरुबाट जीवनका लागि मात्र नभएर मृत्युपश्चात्का लागि पनि मुक्तिको आशीर्वाद बर्सिन्छ । भक्तहरूले मोक्ष प्राप्त गर्नु सबैभन्दा ठूलो प्राप्ति हो । भक्तहरूले जीवनकालमा धर्म, अर्थ, कर्मका लागि साधना गर्छन् । उनीहरूका लागि मोक्ष मात्र बाँकी रहन्छ । त्यही लोभमा उनीहरूले गुरुको वचन निःसर्त पालना गर्छन् । तर त्यही चरित्र राजनीतिमा हाबी भए के होला ?
माथि उद्धृत अम्बेडकर भनाइ यथार्थमा परिणत हुन पुग्छ । राजनीतिमा त्यही चरित्र हाबी भए व्यवस्था मात्र नभएर नेतृत्व पनि पतन हुन पुग्छ । नभए निश्चित रूपमा नेतृत्व अधिनायक बन्न पुग्छ । दलहरूमा भक्त कार्यकर्ताहरू त्यसका सूचक बनिरहेका हुन्छन् । भक्तका कारण त्यो अवस्था आउला भनेर नेतृत्वले सायदै कल्पना गर्ला । गर्न सक्यो भने त्यो नेता राजनेताको कोटिमा पर्न लायक हो । यति बेला नेपालका राजनीतिक दलमा त्यस्ता भक्तको जमात बढ्दो छ । उनीहरूले अम्बेडकरलाई पागल भने अन्यथा मान्नु पर्दैन । किनकि भक्तहरूमा सहन गर्ने तन्तुको अभाव हुन्छ ।
अम्बेडकरको भनाइ मनन गर्ने हो भने आज भारतको राजनीति पनि भक्तहरूबाट सञ्चालित छ । उन्मुख कता छ, भनिरहन नपर्ला । स्वयं त्यहाँका राष्ट्रपिता गान्धी मूर्तिहरूमा निरीह भएर मौनता साँधिरहेको अवस्था छ ।
त्यसको जीवित साक्षी पूर्व राष्ट्रपति प्रणव मुखर्जी छन् । यो स्तम्भकारसँग सन् २०१७ जुलाई ४ को भेटमा उनले त्यसबारे संक्षिप्त सदिच्छा सुनाएका पनि थिए । यति बेला भारतको लोकतन्त्रको भविष्य कुन मोडमा छ भन्नु अनावश्यक चियोचर्चो होला । तर आफ्नाबारे बोल्नु सान्दर्भिक होला । देशमा दुई तिहाइको सरकार भएका बेला भक्तहरूबाहेक अरू प्रसन्न हुन सकिरहेका छैनन् । भक्तहरूलाई अप्रसन्नता प्रकट गर्ने छुट पनि हुँदैन । खुसी निचोरेर उनीहरू जयजयकार मात्र गरिरहेका हुन्छन् । कहिलेकाहीँ त्यो गुण सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँसकोटामा पनि देखिन्छ । बालुवाटार ललितानिवास प्रकरणमा उनले दिएका स्पष्टोक्ति स्मरण गरे पुग्छ ।
सूक्ष्म दृष्टिबाट नियाल्दा भक्तहरूका कारण हाम्रो लोकतन्त्र संकटमा देखिन्छ । राजनीति गर्नेहरूका लागि इतिहास दर्पण पनि हो । इतिहासबाट सिक्न सक्नुपर्छ । राजनीतिक भक्तहरूबाट लोकतन्त्रलाई कसरी खतरा उत्पन्न हुन्छ, छिमेकी भारतको सन् १९७५ को घटना स्मरण गरे पुग्छ । स्वयं आफैंले लडेर ल्याएको लोकतन्त्रमा अधिनायकवादी शासक बन्नुपर्ला भनेर इन्दिरा गान्धीले सायदै सोचेकी थिइन् । यतिसम्म कि राष्ट्रपतिसम्म पनि उनका भक्त बनिदिए । आफैंमा बौद्धिक र शालीन व्यक्तित्व बिबी गिरी उनको रबर छाप बने । उनलाई अहिले पनि इन्दिराका रबर स्ट्याम्प भनेर चिनाइन्छ । इन्दिरा कार्यकालमा भारतले संकटकाल ९सन् १९७५० को सामना गर्नुप¥यो ।
राजनीतिमा भक्तको महिमाको अर्को उदाहरण नेपालको ०१७ साल र ०५८ साल स्मरण गरे पुग्छ । दाजु राजाको देहान्तपछि सत्तामा अएका ज्ञानेन्द्रले पनि सायदै सोचका थिए, इतिहासमा अधिनायकवादको पगरी गुथ्न पर्ला भनेर ।
वर्तमानमा नेकपाका नेता पुष्पकमल दाहालको शब्द सापटी लिने हो भने हामी ज्ञानेन्द्रकै बुद्धिबाट लोकतन्त्रमा अवतरण भएका हौं । यति बेला हामी लोकतन्त्रको अभ्यासमा छौं तर नेतृत्व र दलहरूका कार्यकर्तामा उनका भक्तहरूको गुण साभार भएको छ । लोकतान्त्रिक आचरणको अभाव छ । दल समर्थित कार्यकर्ताहरू कार्यकर्ताभन्दा पनि भक्त हुन उन्मुख छन् । चाहे नेकपामा होस् वा लोकतान्त्रिक भनिएको नेपाली कांग्रेसमा । अन्य दलको त झन् के कुरा ? कार्यकर्तामा भक्त बन्ने होड छ ।
लोकतन्त्रको अभ्यास गरिरहँदा हामी कतै व्यवस्थाको पतनतर्फ उन्मुख त छैनौं रु के ती कार्यकर्तालाई त्यसतर्फ सोच्ने फुर्सद छ ? राजनीतिक चेत भएका कार्यकर्तामा आलोचकीय विवेक भएन भने भक्त बन्ने सम्भावना रहन्छ । भक्त र कार्यकर्ताबीच भेद छ । भेदका बारेमा प्राज्ञिक चेतले आफ्नै किसिमले व्याख्या गर्ला । दलविमुक्त चेतले भन्नुपर्दा दलको कार्यकर्तामा आलोचकीय चेत हुनैपर्छ । तर आलोचना सकारात्मक हुनपर्छ । साध्य र साधनका बारेमा स्पष्ट हुन सक्नुपर्छ । उल्लिखित गुण भएका कार्यकर्ता भक्त कदापि हुँदैनन् ।
भक्तहरूमा भक्तिभाव र कृपाको अशक्तता रहन्छ । अहिंसा, विवेक र सत्यका पक्षपाती भए पनि उनीहरूमा आलोचकीय गुण हुँदैन । भारतको संविधानका प्रवर्तकसमेत रहेका डा। अम्बेडकरले लोकतन्त्रका बारेमा भनेका छन्, ‘हामीले आफ्ना लागि एउटा राम्रो संविधान बनाएका छौं । ठीकसँग कार्यान्वयन गरेनौं भने एउटै निष्कर्ष निस्कनेछ । हामी मानिस दुष्ट छौं । हामीले बनाएको संविधानमा कुनै ठूलो खोट छैन ।’ यसले उनको संविधानप्रतिको आस्था र चिन्ता दर्साउँछ ।
उनका अनुसार सामाजिक र आर्थिक लक्ष्य हासिल गर्न अपनाइने गैरसंवैधानिक प्रक्रियामा खुनी क्रान्तिकारी वा सत्याग्रहीको जस्तो अवज्ञाले पनि व्यवस्थालाई अस्थिर बनाउँछ । उल्लिखित दुवै प्रक्रियाका समर्थनमा कोही छ भने त्यो भक्त मात्रै हो । उनले त्यसबखत भनेका छन्, ‘लक्ष्य हासिल गर्न कुनै संवैधानिक प्रक्रिया नभएका बेला त्यसरी मनोमानी चल्नु ठीक होला तर संविधान हुँदाहुँदै त्यसरी नै काम गर्न खोजियो भने अराजकता हुनेछ । हामीले त्यो गुण वा चरित्रलाई जति छिटो त्याग गर्न सक्छौं लोकतन्त्रका लागि त्यति फलीफाप हुनेछ ।’
उनले वर्षौंअघि भारतका सन्दर्भमा भनेको भनाइ आज नेपाल र नेपालीका लागि सार्थक देखिन्छ । हामीले लोकतन्त्रको अभ्यास गरिरहँदा कतै भक्तिमार्ग त अपनाइरहेका छैनौं रु वर्तमानमा हाम्रो राजनीतिक चरित्र र व्यवहार त्यसतर्फ अवलम्बित त छैन रु ‘महान् व्यक्ति जसले आफ्नो सारा जीवन देशका लागि समर्पित गरे, उनीहरूका प्रति कृतज्ञ रहनु कुनै अफाप नहोला, कृतज्ञताको पनि सीमा छ, त्यसलाई पालना गर्ने कि रु,’ अम्बेडकरले स्पष्ट पार्दै भनेका छन् । उनले त्यस बखतको भारतका सन्दर्भमा दिएको चेतावनी पनि आज स्मरणीय हुन पुगेको छ । राजनेताका प्रति अन्धश्रद्धा राख्नुको मूल्य लोकतन्त्रमा अकल्पनीयसमेत बन्न सक्दछ । अम्बेडकरले २५ नोभेम्बर १९४९ मा त्यहाँको संविधानसभामा मन्तव्य दिने क्रममा यस्तो विचार राखेका हुन् ।
भारतले संविधान प्राप्त गरेको ६६ वर्षपछि पनि उनका भनाइ उत्तिकै सान्दर्भिक साबित भएका छन् । हाम्रा लागि पनि सान्दर्भिक छन् । हामीले भारतकै जस्तो संविधानसभाबाट संविधान बनायौं । तर उनीहरूले पार गरेका अवरोहलाई कति ध्यान दिएका छौं ?
भारतमा भक्तहरूकै कारण सन् १९७७ को दुर्घटना भएको थियो । तर फेरि तंग्रिएको लोकतन्त्र सन् २०१९ सम्म आइपुग्दा धेरै आरोह–अवरोहबीच पनि जुधिरहेको अवस्था छ । दलका नेतागणले भक्तहरू वरण गरिरहँदा श्रेष्ठ र अम्बेडकरका भनाइलाई पनि स्मरण गर्ने कि रु कार्यकर्ताले पनि एकपटक आआफ्ना स्थानबारे सोच्ने कि ?

प्रकाशित मिति : १९ भाद्र २०७६ बिहिबार ००:००  ७ : ४४ बजे