सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको जंगलमा मृत भेटिएका गाईगोरबारे छानबिन गर्न गृह मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ । छानबिन समितिका संयोजक तथा उप–सचिव सागरमणि पाठकको टोली बुधबार सुर्खेत आइपुगेको हो । यही भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले कान्जिहाउसबाट दैलेख लैजाने क्रममा २ सय ९१ गाईमध्ये ३६ वटा गाईगोरु वीरेन्द्रनरको कट्कुुवा र बेउरेनीमा मृत भेटिएका थिए ।गाईगोरु मृत भेटिएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले घटनास्थलको स्थलगत अध्ययन गर्ने बताइएको छ । समितिले घटनाको सत्यतथ्य पत्ता लगाएर आगामी दिनमा यस्ता समस्या उत्पन्न हुँन नदिन सुझावसहितको प्रतिवेदन १५ दिनभित्र गृह मन्त्रालयलाई दिइने संयोजक पाठकले बताउनुभयो । घटनाको छानबिनका लागि कर्णाली प्रदेश सरकार र नेपालगञ्ज उपमहानगरपालिकाले समिति गठन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको टोलीले अहिले सुर्खेतमा अध्ययन गरिरहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले कान्जिहाउसबाट आठ वटा ट्रकमा राखेर पठाएका गाईगोरु वीरेन्द्रनगरको कट्कुवा र बेउरेनीको जंगलमा छोडिएको थियो । जिउँदा रहेका २ सय २१ गाइगोरुलाई नेपालगञ्ज पठाइसकिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ७ जना ट्रक चालक माथि घटनाको बिषयमा अनुसन्धान गरिरहेको बताएको छ ।
१८ भाद्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया