गोरखा ।
छिमेकीको कुटाइबाट गोरखाको चुमनुब्री गाउँपालिका– १ को साम्देमा एक वृद्धको ज्यान गएको छ । ६७ वर्षीय तेन्जेन दोर्जे लामाको ३७ वर्षीय छिमेकी निमा दोर्जे लामाको कुटाइबाट ज्यान गएको प्रहरीले जनाएको छ । बालुवा चोरेको विषयमा आरोपप्रत्यारोप हुँदा निमाले तेन्जेनलाई कुटपिट गरेको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनु भयो ।
‘घर बनाउने काममा बलुवा चोरेको भनेर झगडा भएछ, बिहान एकपटक कुटेर फेरि साँझमा पनि कुटपिट भएछ’, उहाँले भन्नुभयो, ‘गम्भीर घाइते उहाँको मुख र नाकबाट रगत बगेर ज्यान गएको जानकारी आएको छ ।’
घरायसी उपचार गर्दागर्दै तेन्जेनको ज्यान गएको अधिकारीले बताउनु भयो । तेन्जेनको शव पोष्टमर्टमका लागि हेलिकप्टरबाट आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने प्रयास भैरहेको उहाँले बताउनुभयो । घटनास्थल सदरमुकामबाट ७ दिनको पैदल दूरीमा रहेको छ ।
प्रतिक्रिया