८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बुद्धभूमि भयो नेपालकै पहिलो बालविवाह मुक्त नगरपालिका



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका नेपालकै पहिलो बाल विवाह मुक्त नगरपालिका घोषणा भएको छ । नगरपालिकाका १० वटै वडा बाल विवाह मुक्त घोषणा भएसंगै सिंगो नगरपालिका बालविवाह मुक्त घोषणा भएको हो । मंगलबार गोरुसिंगेमा एक भव्य समारोहका बीच संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नगरपालिकालाई बालविवाह मुक्त घोषणा गर्नुभएको हो । साथै उक्त अवसरमा राज्यमन्त्री यादवले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर भएको पनि घोषणा गर्नुभयो ।

घोषणा सभा पछि भएको समारोहमा बोल्दै राज्यमन्त्री यादवले बुद्धभूमिले नेपालकै नमुना काम गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । संघीयता लागु भएसंगै बनेका स्थानीय सरकारमा सबैभन्दा उदाहरणीय काम गरेकोले नगरपालिकालाई उहाँले धन्यवाद दिनुभयो । कतिपय स्थानीय तहले आफुले के काम गर्ने हो ? के अधिकार पाएको हो भन्ने सम्म थाहा नभएको भन्दै बुद्धभूमिले संघीयता कार्यान्वयनमै महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । नेपालमा संघीयता विकास गर्नका लागि बनेकाले संघीयता कार्यान्वयनमा सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

संसारलाई दीप दिने भूमि कपिलवस्तुमा भएपनि सधै ओझेलमा परेको बताउँदै उहाँले अब संघीयता आएपछि त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो । सधै नेपालमा विकास भएन भन्दै गुनासो गर्दै आयौं उहाँले भन्नुभयो, अहिले संघीयता आएको छ जिम्मेवार भएर काम गरौं । बुद्धभूमिले आफ्नो महत्वपूर्ण जिम्मेवारी पूरा गरेको उहाँको भनाई थियो ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सबैको अथक प्रयासका बीच सिंगो नगरपालिकालाई बालविवाह मुक्त र पूर्ण खोप सुनिश्चितता गराउन सफल भएको बताउनुभयो । यस अभियानमा सघाउने जनप्रतिनिधि, गैरसरकारी संघ संस्था, पत्रकार, सरोकारवाला र नगरबासी धन्यवादका पात्र भएको बताउनुभयो । नगरपालिकामा व्याप्त रहेको बालविवाह न्यूनिकरण गर्ने काम निकै महत्वपूर्ण रहेपनि सबैको साथ र सहयोगमा सफल हुन सकिएको भन्दै नगर प्रमुख श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा पनि बालविवाह न्यूनिकरणका लागि नगरपालिकाले विभिन्न कार्यक्रम संचालन गर्ने उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नं. २ गोरुसिंगे स्थित गौतम बुद्ध माविको प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य द्धोय सहसराम यादव, सन्तोष पाण्डेय, वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, मायादेवी गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद कुर्मी, नेपाल पत्रकार महासंघका जिल्ला सचिव हरि अधिकारी लगायतले बुद्धभूमि नगरपालिकाले देशमै उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको स्वागत मन्तव्य, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका खेमराज शर्माको संचालनमा भएको कार्यक्रममा बालविवाह मुक्त र पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रमको सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज र मायादेवी अनलाइन डटकमले प्रत्यक्ष प्रशारण गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७६ मंगलबार ००:००  ८ : ०५ बजे