८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

रवि लामिछाने धरौटीमा रिहा



काठमाडौं ।

टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन् । उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले न्युन धरौटीमा तारेखमा रिहा गरेको हो ।

रविसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की धरौटीमा रिहा भएका हुन् । रिहाइको आदेश भएपनि उनीहरुले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् । उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो ।

उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन् । लामिछानेलगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले तीनभर बहस गरेका थिए ।

रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो । रवि र युवराज बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट  पक्राउ गरेको थियो । लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् ।

चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

पत्रकार पुडासैनीले आत्महत्या अघि अस्मिता, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो । पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेलमाथि प्रहरीले १० तीनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताएका छन् । उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । उनले सिधा कुरा जनतासँगको कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गरेको भिडियोमा उल्लेख गरेका छन् । लामिछानेका कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको दाबी पुडासैनीले गरेका छन् ।

अन्नपूर्ण पोस्ट्बाट

प्रकाशित मिति : ९ भाद्र २०७६ सोमबार ००:००  ६ : १८ बजे