८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मिडिया समाजको तेस्रो आँखा हुन नसकेको सरोकारवालाको गुनासो



बाबुराम रायमाझी, गोरुसिंगे ।
मिडियाले सबै समाजका सवै नागरिकलाई समान हिसावले हेर्दै समाजका विकृति र विसंगतीलाई यथार्थ रुपमा प्रशारण तथा प्रकाशन गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।
जिल्लाको गोरुसिंगेमा आयोजित नागरिकको नजरमा मिडिया विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । साथै उनीहरुले प्रेस स्वतन्त्रताका नाममा जथाभावी मिडियाहरु खोल्ने प्रवृत्तिले संचार जगत धमिलिदै गएको प्रति इंगित गर्दै हाल दलगत पत्रकारिता र पहुँचवालाका साधनका रुपमा मिडिया अगाडी बढेकोले अव सच्चिनुपर्ने तथा आवाज विहिनको आवाजका रुपमा अगाडी बढ्नुपर्ने सुझाव समेत दिएका थिए ।
कार्यक्रममा सहभागिका तर्फबाट उद्योगी व्यापारी, राजनीतिज्ञ समाजसेवी, वडा तथा नगरका जनप्रतिनिधिहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बुद्धभूमि नगरपालिकाका मेयर एवम् कार्यक्रमका प्रमुख अतिथि केशव कुमार श्रेष्ठले नगरमा हुने सवै विकासका कार्य निर्णयहरु पत्रकारहरु मार्फत जनतालाई सुसुचित गराउदै आएको बताउदै कतिपय अवस्थामा पत्रकारहरुले स्थलमा नपुगि वास्तविकता एकातिर तर अर्कैतिर समाचार लेख्ने गरेको बताए ।
साथै विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले समाजमा मिडियाको अहम भूमिका रहेको बताउँदै, राज्यले पछिल्लो समयमा अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरित मिडिया काउन्सिल विधेक, आमसंचार ऐन लगाएतका ऐन सम्बन्धित निकायसंग छलफल नै नगरि ल्याउन खोजेकोले त्यो असफल भएर जाने बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले सत्य तथ्य समाचार मर्यादित पत्रकारितामा सुरक्षा निकायको पुर्ण सुरक्षा हुने कुरामा विश्वस्त रहन आश्वस्त पारेका छन् ।
प्रेस युनियनका केन्द्रिय सभापती बद्रि सिग्देलले पत्रकारहरु जिम्मेवार र मर्यादित हुन जरुरी रहेको बताए । त्यस्तै आयोजक संस्था नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले कार्यक्रमको औचित्यमाथि प्रष्ट पारेका थिए ।

कार्यक्रमका अध्यक्ष डिलाराम भुसालले पत्रकारिता पेशालाई मर्यादित बनाउन सबै सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ९ भाद्र २०७६ सोमबार ००:००  ८ : ४२ बजे