मायादेवी अनलाइन, वाणगंगा ।
यसै हप्ता इन्टरनेश्नल स्कूल अवार्ड (आइएसए) प्राप्त गर्न सफल कपिलवस्तुका दुई विद्यालयले छुट्टा छुट्टै विजयीत्उसव मनाएका छन् । व्रिटिस काउन्सिल र पाठ्यक्रम विकास केन्द्रले संयुक्त रुपमा प्रदान गरेको आइएसए अवार्डको खुसीयालीमा वाणगंगा नगरपालिका वडा नं. ४ मा अवस्थित वाणगंगा मावि गजेहडा र वडा नं. २ राजपुर स्थित ज्ञानपुञ्ज बोर्डिङ स्कूलले बाजागाजा सहित विजयी उत्सव बनाएका हुन् । दुवै विद्यालयले पिपरा, बैरिया, चारनम्बर, बोडगाउँ, गजेहडा लगायतका स्थानसम्म विजयी र्याली निकालेका थिए ।
गजेहडा स्थित वाणगंगा मावि यो अवार्ड प्राप्त गर्ने कपिलवस्तुको पहिलो सामुदायिक विद्यालय हो भने राजपुर स्थित ज्ञानपुञ्ज बोर्डिङ संस्थागत तर्फको पहिलो विद्यालय हो ।
वाणगंगा माविले र्याली पछि आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले वाणगंगा माविले सिंगो कपिलवस्तुको नाम उचो बनाएकोमा विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारी, आइएसए कोर्डिनेटर गोविन्द पोख्रेल लगायतलाई बधाई दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेले वाणगंगाको उपलब्धी पछि सामुदायिक विद्यालयले मेहिनेत गर्दैनन भन्ने कुरा झुठा सावित भएको बताउनुभयो । आइएसए अवार्ड सामान्य नभई अथक मेहिनेत, परिश्रम र नविनतम सोचबाट प्राप्त गर्ने अवार्ड भएको हुँदा सामुदायिक विद्यालय पनि अब नयाँ ढंगबाट अगाडी बढ्न थालेको बताउनुभयो ।
यो अवार्डका पछाडि थुप्रै चुनौती बाँकी रहेकाले अगामी दिनमा विद्यालयले थप मेहिनेत गर्नुपर्ने बताउनुभयो । जिल्लाका हरेक सामुदायिक विद्यालय वाणगंगा मावि जस्तै नयाँ सोचबाट अगी बढ्न सक्ने हो भने शिक्षामा गुणस्तरियता कायम हुनमा दुई मत नभएको बताउनुभयो ।
विशिष्ट अतिथि वाणगंगा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराईले वाणगंगा माविको यो सफलताले आफुहरुको उचाई बढेको महशुस गरेको बताउनुभयो । कक्षा कोठमामा सिमित भएर पढाउने परम्परागत शिक्षाले एक्काइसौं शताब्दीको शिक्षाको माग पूरा गर्न नसक्ने भएकाले शिक्षाको नयाँ आयामको परिणाम आईएसए अवार्ड भएको बताउनुभयो ।
वडा नं. ४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीले आइएसए अवार्ड प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै जिल्लाको नाम अन्तर्राष्ट्रिय जगतमा पनि फैलिएको बताउनुभयो । अवार्ड पछि विद्यालय सबैको नजरमा परेकाले यसका हरेक पक्ष चुस्तदुरुस्त जोड दिनुभयो । साथै विद्यालयको छात्राबास जीर्ण भएर मर्मत सम्भार हुन नसकेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै यसै बर्षमा त्यसको निर्माण तथा स्तरउन्नती गर्ने क्षेत्रीले प्रतिवद्धता जनाउनुभयो ।
विद्यालयका पूर्व प्रधानाध्यापक नन्दकिशोर शुक्लाले विद्यालयको सफलता जिल्लाबासीका लागि अनुकरणीय रहेको भन्दै यसको गरिमा बचाई राख्न सुझाउनुभयो । साथै उहाँले विद्यालयको छात्राबास जीर्ण भएर कामै नलाग्ने अवस्थामा हुँदा पनि सरोकारवालाको ध्यान नपुगेको भन्दै गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
विद्यालयका प्रधानाध्यापक भण्डारीले आईएसई अवार्ड पाउन धेरै मेहिनेत र दुख गरेको स्मरण गर्दै यो खर्चिलो भएको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर कायम गर्नका लागि आफु संग नयाँ नयाँ रणनिती रहेपनि सिमित साधन र स्रोत हुँदा यो मुताविकका लक्ष्य हासिल गर्न नसकिएको बताउनुभयो । यसका स्थानीय सरकारको सहयोग अपरिहार्य भएको भन्दै यस कार्यमा खट्ने सबैलाई धन्यवाद दिनुभयो ।
विद्यालयका आईएसए कोर्डिनेटर गोविन्द पोख्रलले यसलाई सामान्य रुपमा नलिन सबैमा आग्रह गर्नुभयो । देशभरका १ सय २५ मध्ये ४१ विद्यालयमा पर्नु चानेचुने कुरा नभई ठूला मेहिनेत र नयाँ सोचबाट मात्र यो अवार्ड हासिल गरिएको बताउँदै आइएसए जर्निभरी विद्यालयले गरेका कामहरुको बारेमा जानकारी दिनुभएको थियो ।
यसैबीच विद्यालयलाई आईएसए अवार्ड दिलाउन सञ्चारको क्षेत्रबाट महत्वपूर्ण योगदान दिएको भन्दै रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने र समाचार प्रमुख दिपक अनुरागीलाई कदर पत्रद्धारा सम्मान गरिएको छ । साथै आइएसए गतिविधिमा सक्रिय विद्यालयका शिक्षक तथा कर्मचारी र विभिन्न प्रतियोगीतामा सफल भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
विद्यालयका शिक्षक राजकुमार थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजसेवी दल बहादुर कुँवर, चन्द्रकान्त न्यौपाने लगायतले बोल्नुभएको थियो ।
उता ज्ञानपुञ्जको विजयी उत्सव पछि आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले पनि आईएसए अवार्ड प्राप्त विद्यालयको मुक्तकण्डले प्रशंसा गरेका छन् । प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थीले शिक्षामा नयाँ सोच आवश्यक भएको भन्दै विद्यालयले गरेको प्रगतिले आफुपनि खुसी भएको बताउनुभयो । अवार्ड प्राप्त गर्नु एकातर्फ खुसीको क्षण भएपनि अर्का तर्फ ठूलो चुनौती रहेको तर्फ विद्यालयको ध्यानाकर्षण गराउनुभयो । यसको भ्यालिडिटी अबका तीन बर्ष रहेको आफुले थाहा पाएको हुँदा बाँकी समयसम्म जोगाई राख्न चुनौती भएको बताउनुभयो ।
कार्यक्रममा नगर विकासमा अधिकांश समय खर्चिनुभएका पन्थीले यस क्षेत्रमा थुप्रै विकास निर्माणका काम भैरहेको बताउनुभयो । वाणगंगा नगरलाई प्रदेशले पनि प्राथमिकताका साथ हेरेको हुँदा अबका तीन चार बर्ष नगरको विकास बर्ष भएको बताउनुभयो । अल्पकालिन तथा दीर्घकालिन रुपमा बनाइएका योजनाहरु धमाधम कार्यान्वय तर्फ स्थानीय र प्रदेश सरकार लागि परेको हुँदा पत्याउन नसक्ने गरी कपिलवस्तुको विकास हुने तर्क गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि थानेश्वर घिमिरेले आइएसए अवार्ड पछि ज्ञानपुञ्जको नाम अन्तर्राष्ट्रिय जगतमा पनि पुगेकाले विद्यालयका हरेक पक्षहरु सवल हुनुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष विष्णु पौडेलले आफ्नो वडाको विद्यालयको सफलताले आफु निकै खुसी भएको भन्दै बधाई ज्ञापन गर्नुभयो । नगरपालिकाको विकासको बारेमा बोल्नुभएका पौडेलले नगरको पुजिगत बजेट ९० प्रतिशत खर्च हुनु प्रदेशमै उदाहरणीय भएको बताउनुभयो ।
वडा नं. १ का वडाध्यक्ष बालकुमारी पन्तले पछिल्लो समय नगरको शिक्षाको गुणस्तरमा धेरै सुधार भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख बालाराम ज्ञवाली, जनता माविका प्रधानाध्यापक रमेश पन्थी, प्याब्सन कपिलवस्तुका उपाध्यक्ष सुन्दर पाण्डे, वाणगंगा मावि गजेहडाका आइएसए कोर्डिनेटर गोविन्द पोख्रेल, चन्द्रकान्त न्यौपाने लगायतले बोल्नुभएको थियो । उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रिन्सिपल रोमकान्त घिमिरेले यो अवार्डको पछाडि धेरै दुख लुकेको बताउनुभयो । विद्यालयले केही नयाँ गर्ने सोच राख्ने हो भने जुनसुकै कुरापनि सम्भव हुन सक्ने यस अवार्डको सन्देश भएको बताउनुभयो । अब आफुहरुसंग जिल्लाका सामुदायिक तथा नीजि विद्यालयहरुसंग सहकार्य गर्ने जिम्मेवारी आएको हुँदा त्यसै अनुसार आफुहरु लाग्ने बताउनुभयो ।
साथै आइएसए गतिविधिमा सक्रिय विद्यालयका शिक्षक तथा कर्मचारी र विभिन्न प्रतियोगीतामा सफल भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया