दाङ ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एजेण्डाका हिसाबले आफ्नो पार्टी पहिलो भएको दाबी गरेका छन् । उनले उपकुलपति नियुक्तिदेखि जग्गा प्रकरणसम्मका घटनामा सबैले साझाको एजेण्डालाई नै पछ्याएका कारणले साझा पार्टी पहिलो भएको दाबी गरेका हुन् ।
शनिबार कार्यक्रमको सिलसिलामा दाङको तुलसीपुर आएका मिश्रले पत्रकारसँग कुरा गर्दै स्थापनाको २ वर्षका बीचमा जनतामा एजेण्डा उठाएकै कारण देशका मुख्य मुद्दामा पार्टीको सहभागिता हुने गरेको उनले बताए । ’देशका मुख्य एजेण्डामा साझा पार्टीको सहभागिता अनिवार्य भएको छ,’ उनले भने । उनले पेसागत संगठनहरूले पेसालाई नै धरासायी बनाएको भन्दै साझा पार्टीले कुनै पनि पेसागत संगठन नखोल्ने बताए ।
’पेसागत संगठनहरू पेसागत हकहितभन्दा पनि आफ्ना पार्टी निकटका व्यक्तिहरूलाई कसरी पक्षपोषण गर्ने भन्ने कुरामा उद्यत रहेका छन्’ उनले भने । उनले युवा, महिला र ज्येष्ठ नागरिकको संगठन भने बनाउने संकेत गरे । रवि लामिछानेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै संयोजक मिश्रले प्रहरीले कुनै पनि घटनाको निष्पक्ष छानबिन गर्न पाउनुपर्ने धारणा राखे ।
निष्पक्ष छानबिनका लागि भीडले आवाज उठाउनु आवश्यक रहेको भन्दै त्यसले छानबिनलाई भने असर पर्ने खालका गतिविधि गर्न नहुने बताए । ’निष्पक्षरूपमा छानबिन गर्न र अनुसन्धानलाई वहकिन नदिनका लागि आन्दोलन गर्न सकिन्छ’ उनले भने । त्यसैगरी कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले पार्टीलाई फराकिलो बनाउन खोज्दा केही साथीसँग मतभेद भएर छुट्टिनु परेको बताए ।
८ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया