८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सरकारले विकास गरेन भनेर दुष्प्रचार गरियोः सञ्चारमन्त्री बाँस्कोटा



अर्घाखाँची ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेको बताउनुभएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगिताको शनिबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले जनताको विश्वासलाई वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिले पनि नगर्ने बताउनुभयो ।

देशमा राजनीतिक क्रान्तिको अध्याय तथा समृद्धिको जग बसाल्ने काम सकिएको बताउँदै उहाँले पाँच वर्षभित्रमा देशले काँचुली फेर्ने बताउनुभयो । समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडी बढेको बताउनु भयो ।

सरकारले विकास गरेन भनेर भन्ने दुष्प्रचार भैरहेको बताउँदै सरकारले गरेका कामलाई राम्रोसँग नियाल्न पनि आग्रह गर्नु भयो । रोपेको धान पाक्न त तीनदेखि चार महिना लाग्ने बताउँदै सरकारले गरेका काम झ्याप्पै नदेखिने बताउनुभयो ।

आम नागरिकलाई सचेत बनाउने काम पत्रकारहरुबाट हुन नसकेको गुनासो गर्दै आचारसंहिताभित्र रहेर कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो । सञ्चार मन्त्रीको गाडीले कपिलवस्तुमा मयुर हानेको भन्नेजस्ता गलत प्रचार नगर्न पत्रकारहरुलाइ आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ८ भाद्र २०७६ आइतबार ००:००  ६ : १० बजे