८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

चन्द्रौटा हाट बजारको मुहार फेरिदै



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको पश्चिममा अवस्थित चन्द्रौटामा लाग्दै आएको हाट बजारको मुहार फेरिन थालेको छ । जिल्लाको अन्त्यन्तै पुराना हाट बजारको यहाँस्थित बजार समितिको सक्रियतामा मुहार फेरिन थालेको हो । शिवराज नगरपालिकाको मुटु र यहाँ लाग्ने हाट बजारमा स्थानीय कृषकले उत्पादन गरेको कृषि वस्तुको खपत बढी हुँदै आएको छ । यसले पनि यो हाट बजारको महत्व सरोकारवालाले पनि बुज्न सकेका छन् ।
वि.स. २०६४ सालमा भएको मोइत खाँ हत्याले चन्द्रौटा हाट बजारको भविष्यमा केही अन्यौलता ल्याएको थियो । ०६४ सालको घटना भन्दा अगाडी चन्द्रौटा हाट बजार व्यक्तिगत तरिकाले लगाउने र त्यसको मुनाफा स्वय्म व्यक्तिले नै लिने गरेका थिए । पछि यस क्षेत्रका स्थानीय बुद्घिजीवि, राजनीतिक दलका नेताहरुको अथक प्रयासमा चन्द्रौटा बजारलाई नयाँ स्थानमा संचालन गरेका थिए ।
चन्द्रौटा देखि करिब २० किलोमिटर भारतको बडर भएकोले चन्द्रौटा अहिले व्यापारिक केन्द्रको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको हो । जिल्लाका व्यापारीहरुको मुख्य क्षेत्र यही हाट बजार हो भने रोल्पा, प्युठान, दाङ्ग, अर्घाखाँचीसम्मका सयौं व्यपारीहरु समेत यहाँ आउने गरेको स्थानीय समाजसेवी राज कुमार क्षेत्रीले बताए । प्रत्येक हप्ताको बुधवार लाग्ने हाट बजारमा आजभोली सर्वसाधारणको भीड लाग्ने गरेको छ ।
हरेक बर्ष थपिदै गएको हाट बजार प्रतिको आकर्षणले बजारलाई व्यवस्थापन गर्न शिवराज नगरपालिकाले प्रयास थालेको थियो । नगरपालिका र स्थानीयको सहयोगमा वि.स. २०७५ सालमा शिवराज हाट बजार व्यवस्थान समितिले गठन भएको छ । यहि समितिले अहिले हाट बजारको रेखदेख गर्दै आएको छ ।
हाट बजारमा कृषकको ध्यानलाई मध्यनजर गर्ने गरी समितिले विभिन्न प्रयासहरु थालेको छ । स्थानीय कृषकलाई धैरे भन्दा धैरे सुविधा दिन व्यपारीहरुलाई स्थायी लेखा नम्बर र शिवराज नगरपालिकामा आफ्नो व्यवसायिक दर्ता गरेका व्यापारीलाई प्राथमितामा राखि विक्रीवितरण गर्न सहजताका लागि टहरा उपलब्ध गराएको छ ।
स्थानीय व्यपारीको पहिचान नहुँदा भारतबाट आएका व्यापारीहरुले बढि फाईदा लिने र नेपाली पैसा भारत जाने गरेको थियो । अब भने हाट बजारमा नेपाली व्यापारीहरुले बढी लाभ लिन सक्ने भएका छन् ।
बजारलाई व्यवस्थित बनाइएको छ । स्थानीय सरकारका अलवा प्रदेश सरकारसंग पनि बजार व्यवस्थित पार्नका लागि पहल भैरहेको प्रदेश सांसद अर्जुन केसीले जनाए । हाट बजारमा तरकारी, माछामासुका स्टललाई बढी प्राथमिकता दिइने छ । यति मात्र होइन् यहाँ संघिय सरकारले पनि हाट बजार व्यवस्थितका लागि ४५ लाख र हल्लानगर हाट बजारलाई २० लाख उपलब्ध गराएको छ ।
संघीय सरकारको ४५ लाखले ५ वटा स्टल निर्माण गर्नु पर्नेमा समितिले गुणस्तरिय काम गरेर थप एक ओटा स्टल बढी बनाउन सफल भएको समितिका अध्यक्ष भरत पोख्रेलले बताए । भारतबाट आएको तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग बढी भएकोले अहिले स्थानीय तरकारीको माग बढेको हो ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिने र थौक र खुदा विक्रेतालाई विस्तारै व्यवस्थापन गर्ने योजना रहेको समितिका सचिव रिता क्षेत्रीले बताईन् । विगतका वर्षहरुमा बजारको ढेक्काको रकम विद्यालय र नगरपालिकाले लिने गरेको र बजार व्यवस्थापनमा ध्यान नदिदा बजारबाट निस्किएको फोहरमैलाको दुर्गन्धले बजारमा आउँने सेवाग्राहीलाई सास्ती हुने गरेको मानवअधिकारकर्मी विष्णु प्रसाद खतिवडाले सुनाए । अब त्यतातिर पनि ध्यान जानेमा उनको विश्वास छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६ शुक्रबार ००:००  २ : २४ बजे