काठमाडौँ ।
चर्चित कवि म्याथ्यु आर्नोल्डले सन् १८८३ मा लेखेको कविता ‘सोहराब एन्ड रुस्तम’मा भनेका छन् – मर्न लागेको मानिसको ओठमा सत्य बसेको हुन्छ (truth sits upon the lips of dying men )।
मर्न लागेको व्यक्तिले बोल्ने वा भन्ने अन्तिम शब्दहरुलाई ‘डाइङ डिक्लरेसन’का रुपमा फौजदारी अपराधमा स्वीकार्य प्रमाण मान्ने गरिएको छ। मृत्यु भइसकेको हुनाले त्यस्तो व्यक्ति अदालतमा उपस्थित हुन नसक्ने हुँदा डाइङ डिक्लरेसनलाई नै उसको बयान मान्ने गरिन्छ।
सतहमा ‘भनेसुनेको प्रमाण’ (hearsay) जस्तो देखिएपनि डाइङ डिक्लरेसनको हैसियत त्यसभन्दा बलियो हुन्छ। तर यसरी ‘डाइङ डिक्लरेसन’ गर्दा त्यसो गर्नेलाई भनिएका कुराको वास्तविक ज्ञान हुनुपर्ने मान्यता राखिन्छ। त्यसैले ‘डाइङ डिक्लरेसन’लाई स्वीकार्य प्रमाण मान्ने कि नमान्ने भन्ने विवाद पनि रहँदै आएको छ।
‘डाइङ डिक्लरेसन’लाई स्वीकार्य प्रमाण मान्न हुन्न भन्नेहरुको दाबी छ- ‘डाइङ डिक्लरेसन’ एकोहोरो हुन्छ। यसमा दोहोरो परीक्षण गर्ने मौका हुँदैन। यसमा जो कोही पनि फस्न सक्ने सम्भावना रहन्छ।
अमेरिकामा १८ औँ शताब्दीदेखि नै डाइङ डिक्लरेसनलाई फौजदारी अपराधमा प्रयोग गर्न थालिएको हो। भारतमा मर्न लागेको व्यक्तिले जिम्मेवार निकायसँग बोलेको कुरा (डाइङ डिक्लरेसन)लाई प्रमाण मान्ने गरिएको छ।
पछिल्लो समय आत्महत्यासँग सम्बन्धित घटनामा मृत्यु अघि लेखिएका वा बोलिएका कुरालाई पनि प्रमाण मानेर अनुसन्धान गर्नेक्रम बढ्दो छ। आत्महत्या दुरुत्साहन कसुरको प्रावधानअन्तर्गत यस्ता विषयलाई प्रमाणका रुपमा अगाडि सार्न थालिएको छ।
नेपालमा पनि आत्महत्या अघि लेखिएका सुसाइड नोट वा रेकर्ड गरिएका भिडियोलाई ‘डाइङ डिक्लरेसन’ मानेर फौजदारी अपराधका अनुसन्धान हुने क्रम बढिरहेको छ। कन्चनपुरको महेन्द्रनगरमा एक विधार्थीले शिक्षकले पिटेको कुरा कारण खुलाएर सुसाइड नोट लेख्दै आत्महत्या गरे। मृतकका आफन्तको जाहेरीपछि शिक्षक पक्राउ परे।
राजधानीको समता अस्पतालमा काम गर्ने कर्मचारीले अस्पताल परिसरभित्रै सुसाइड नोट लेखेर आत्महत्या गरिन्। सुसाइड नोटमा अस्पतालका अध्यक्ष उत्तम सन्जेलकी श्रीमतीलाई घुमाउरो पारामा आरोप लगाइएका कारण प्रहरीले उनलाई पक्राउ गर्यो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्रचारको आरोप लगाएपछि मालपोतका निलम्बित कर्मचारी हरिप्रसाद आर्चायले सुसाइड नोट लेख्दै आत्महत्या गरे। सुसाइड नोटमा आचार्यले अख्तियारकै कारण आफू मरेको संकेत गर्दै अख्तियार प्रमुखलाई ‘ दुई सय वर्ष बाँच्नु’ भनेर व्यंगात्मकरुपमा शुभकामना दिएका छन्।
तीन वर्षअघि भारतमा यस्तै घटना भएको थियो। सर्वोच्च अदालतले पदबाट हटाएको दुई सातापछि अरुणान्चलका मुख्यमन्त्री कालिखो पलले ६० पेज (सम्भवत् विश्वकै सबैभन्दा लामो सुसाइड नोट) सुसाइड नोट लेखेर आत्महत्या गरे। सुसाइड नोटमा तत्कालिन राष्ट्रपतिसहित मन्त्री, न्यायाधिशसहित थुप्रैको नाम उल्लेख गरेका थिए। उनिहरु भष्ट्राचारमा लिप्त भएको आरोप त्यसमा लगाइएको थियो।देशसंचारबाट साभार । अदालतले सुसाइड नोट मृतक पलले नै लेखेको हो भन्नेमै प्रश्च उठायो।
पूर्व डीआईजी हेमन्त मल्ल सुसाइड नोट वा डाइङ डिक्लरेसनको भरमा कोही कसैलाई मुद्दा चलाइनु गलत भएको बताउँछन्। ‘सुसाइड नोट वा डाइङ डिक्लेरेसन भनेसुनेको प्रमाण मात्र हो। त्यसलाई पुष्टि गर्ने भौतिक वा प्राविधिक प्रमाण नभएसम्म कसैलाई पनि पक्राउ गरेर मुद्धा चलाउनु हुन्न। तर हाम्रोमा गलत अभ्यास हुँदै छ। कसैले दबाब दिएकै भरमा मुद्धा दर्ता गर्ने चलनले राम्रो हुँदैन’, मल्ल भन्छन्।
भारतको राजस्थान एउटी महिलालाई जबर्जस्ती शति जान बाध्य बनाएको आरोपमा आत्महत्या दुरुत्साहन कसुरमा त्यहाँ मुद्धा चलेको उनी बताउँछन्।
‘आत्महत्या गर्नेस्तरसम्मको पृष्ठभूमि थियो कि थिएन, त्यो हामीले हेर्नै पर्छ। नत्र भने आत्महत्या गर्नेले लेखेको सुसाइड नोट वा तिनका आफन्तले दिएको किटानी जाहेरीकै आधारमा मुद्दा चलाउन थाल्ने हो भने भोलिका दिनमा हरेक आत्महत्याका घटनामा आत्महत्या दुरुत्साहन कसुरमा मुद्धा चलाउनुपर्ने अवस्था आउन सक्छ’, लामो समय अपराध अनुसन्धानमा विताएका मल्ल भन्छन्।
आत्महत्या स्वयं अपराधजस्तै भएकाले आत्महत्या दुरुत्साहन कसुरको कार्यान्वयन पक्षमा सरोकारवाल पक्ष गम्भीर हुनुपर्ने उनी बताउँछन्। ‘त्यसैले सुसाइड नोट र डाइङ डिक्लरेसनलाई एउटै मानेर व्यवहार हुनुहुँदैन’, मल्लको सुझाव छ।देशसंचारबाट साभार ।
प्रतिक्रिया