८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

एक घर, एक कागतीको अभियानमा वडा नं. ७, बाँडियो १८ सय विरुवा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ ले वडाका प्रत्येक घरलाई निशुल्क कागतीका विरुवा वितरण गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ को लक्षित वर्गको कार्यक्रम अन्तर्रगत वडाका साढे १७ सय घरधुरी, संघ संस्था ५० गरी १८ सय जनालाई साढे ८ लाख बराबरको विरुवा बाडेको हो ।
प्रत्येक घरधुरीलाई एक एक ओटाका दरले कागतीका विरुवा बाडिएको छ । वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले स्थानीयको घरमा कागतीको विरुवा रोपेर अभियान सुरु गर्नुभएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थारुले जडिबुटीको रुपमा रहेको कागतीलाई हर घरहरुमा अनिवार्य रोप्नुपर्ने गरी वडाले रोखेको कार्यक्रम नौलो भएको भन्दै प्रशंसा गर्नुभयो । कागती स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो भएकाले विरुवा रोपेपछि संरक्षण र सम्बर्धन गरी आयआर्जनको माध्यम बनाउन सके कार्यक्रम फलदायी हुने बताउनुभयो ।
यसैबीच नगरपालिकाको नीति तथा कार्यक्रममा यस बर्ष प्रत्येक घरको भान्सालाई औषधालय बनाउने कार्यक्रम तय भएको भन्दै उहाँले हरेक घरमा कागति, तुल्सी, पिपल लगायतका विरुवा अनिवार्य हुनुपर्ने बताउनुभयो ।
नगर उप प्रमुख अर्यालले प्रत्येक घरमा एक एक ओटा विरुवा परिमाणमा सानो देखिएता पनि समग्र वडाको हिसाब गर्दा साढे १७ सय विरुवाले स्थानीयलाई लाभ दिनसक्ने तर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले एक घर एक कागती कार्यक्रम नगरको पर्यावरण र कृषि क्षेत्र तर्फको पहिलो कार्यक्रम भएको हुनाले यसलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
वडाध्यक्ष विष्णु गिरीले आफ्नो ५ बर्षे कार्यकाल वाणगंगाकै नमुना बनाउने गरी आफु अगाडी बढेको हुँदा यो कार्यक्रम पनि त्यसैको निरन्तरता रहेको बताउनुभयो । भौतिक विकासले मात्र समाज रुपान्तरण हुन नसक्ने भन्दै वडाका नागरिकहरुलाई स्वस्थ्य र तन्दुरुस्त बनाउन यो कार्यक्रम गरिएको वडाध्यक्ष गिरीले जानकारी दिनुभयो ।
विरुवा रोप्ने ठूलो कुरा नभई यसको दिगोपना र संरक्षण महत्वपूर्ण भएको हुँदा विरुवा रोपेर मलजल नगर्ने वडाबासी वडाले दिने सुविधाबाट बञ्चित हुने बताउनुभयो । यस आवमा यो हप्ता मात्रै तीन ओटा कार्यक्रम सम्पन्न हुन लागेको भन्दै अघिल्लो बर्षहरुमा जस्तै यस बर्षपनि सबै कार्यक्रमहरु तोकिएकै समयमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रगतिशिल टोल बिकास संस्थाका अध्यक्ष टोप बहादुर थापा, नगरका कृषि शाखा प्रमुख लेस बहादुर के.सी. लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६ बिहिबार ००:००  १० : ४९ बजे