गुल्मी ।
सत्यवतिका गाउँपालिकाका वास्तविक पहिरो प्रभावितको पुर्नबासको पूर्ण जिम्मा प्रदेश ५ सरकारले लिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी सत्यवति गाउँपालिकाको टोलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बिहिबार ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै मूख्यमन्त्री पोखरेलले पुर्नबासको लागि प्रदेश सरकारले पूर्ण जिम्मा लिने प्रतिबद्धता व्यक्त गरेको प्राकृतिक विपद् व्यवस्थापन तथा पुर्नःस्थापना सहजीकरण उपसमिति संयोजक अमर सिंजापति मगरले बताए ।
उद्धार र राहतको काममा पनि प्रदेश सरकारको तर्फबाट आफ्नो कर्तव्य पूरा गरेकाले पहिरो प्रभावित क्षेत्रको वास्तविक तथ्यांकीय अवस्था बाहिर आएपछि योजनावद्ध रुपमा काम सुरु हुने आश्वासन पाएको सिंजापतिले बताए । पहिरो प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुर्नस्थापनाको बिषयमा प्रदेश सरकार गम्भिर नै भएकाले एकिकृत बस्ती निर्माणको लागि पनि मुख्यमन्त्री सकारात्मक रहेको प्रेस सल्लाहकार शेर बहादुर केसीले बताए । ‘विस्थापितको जिम्मा राज्यलेनै लिनुपर्छ मन्त्री ज्यूको धारणा पनि एकिकृत बस्ती निर्माण नै हो,’ केसीले भने, ‘प्रदेशसंगै केन्द्र र स्थानीय सरकारको पनि सहयोग आवश्यक छ ।’
प्राकृतिक विपद व्यवस्थापन तथा पुर्नःस्थापना सहजीकरण उपसमिति सत्यवती गाउँपालिकाको टोलीले मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्री सुदर्शन बराल मगर, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई छुट्टाछुट्टै नौ बुँदे ज्ञापन पत्र बुझाएको थियो । सामाजिक विकास मन्त्री सुर्दशन बरालले स्थानीय सरकारले एकिकृत बस्ती निर्माणको लागि जग्गा पहिचान गर्ने र प्रदेशले पूर्ण विस्थापित परिवारलाई पुर्नवासको व्यवस्था गर्ने बताए ।
२४ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया