८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पाल्पामा हराउने महिलाको संख्यामा बृद्धि



पाल्पा ।

पछिल्लो समय जिल्लामा हराउने महिलाको संख्या बढेको छ । अधिकांश हराउने महिला मध्य वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमती रहेका छन् । गत आर्थिक वर्षमा १ सय २० जना महिला हराएको उजुरी जिल्ला प्रहरी कार्यालय पाल्पामा परेको थियो। चालु आर्थिक वर्षको साउन महिनाको १५ दिन बित्न नपाउँदै ८ जना महिला हराएको उजुरी परिसकेको छ ।  हराउनेमा अधिकांश विवाहिता महिला रहेका छन् ।

हराउने महिलाहरू ३० वर्ष देखि ५० वर्ष उमेर समुहका छन् । हराएका महिला खोजीदिन भन्दै श्रीमान् तथा घरका सासू ससुरा उजुरी दिन आउने गरेको प्रहरीको भनाइ छ । यस्तै २७ जना बालिका र ७ जना बालकसमेत हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक फाँटका प्रहरी जवान वविता थापाले बताइन् । उनका अनुसार करिब १ सय जना महिला सम्पर्कमा आएका छन् ।

आफन्तले खोजी गरी पाऊँ भनि उजुरी दिएपछि उनीहरू सम्पर्कमा आएका हुन् । ’यहाँ उजुरी आएपछि हामीले खोजी गर्छौं’ प्रहरी जवान थापाले भनिन् ’हराएको भनिएका मध्य केही महिला यहीँ कार्यालयमा आउने गरेका छन् भने अधिकांश महिला सम्पर्कमा आएको खबर आफन्तले दिने गरेका छन् ।’ सम्पर्कमा आएका महिलाहरूले पहिलेको श्रीमानलाई छोडेर अर्कै पुरुषसँग विवाह गरिसकेका पनि उनले बताइन् ।

’जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका महिला पनि माइती पक्षको जिम्मेवारीमा जाने गरेको र पछि अर्कै पुरुषसँग विवाह गरिसकेका छन्’ उनले भनिन् । उनका अनुसार १र२ जना महिला मात्र आफ्नै श्रीमानसँग मिलेर बसेका छन् । ’श्रीमानले विदेशबाट कमाएर पठाइदिएको पैसा श्रीमतीले अर्कै पुरुषलाई दिने र त्यो पैसा फिर्ता हुने अवस्था नभएपछि उसैसँग विवाह गरेको पाइएको छ’ उनले भनिन् ।

बालबालिका साथीको बहकाबमा लागेर आफन्तभन्दा टाढा जाने तथा विवाह गर्ने गरेको प्रहरीको भनाइ छ। अधिकांश विदेशमा रहेका पुरुषको घरबार बिग्रिएको छ । श्रीमान् विदेश हुँदा घरमा श्रीमती अरूसँगै मिलेर विवाह गरेको घट्ना बढी रहेका छन् । प्रहरीका अनुसार प्रायः बच्चा भएका आमाहरू यसरी अर्कै पुरुषसँग विवाह गरेको पाइएको छ । उनीहरू फेसबुक र मोबाइल फोनबाट अर्कै पुरुषसँग सम्पर्कमा आउने गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६ शुक्रबार ००:००  १० : २८ बजे