८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भारतीय कम्युनिष्ट पार्टीका नेता श्रीनगरबाट गिरफ्तार



काठमाडौँ ।

जम्मु—कश्मीरको तनाव बढिरहेका बेला त्यहाँ रहेका आफ्ना बिरामी नेतालाई भेट्न जाने क्रममा भारतका कम्युनिष्ट नेता सीताराम येचुरी र डी राजालाई गिरफ्तार गरिएको छ ।

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव येचूरी र राजालाई कश्मीरस्थित श्रीनगरबाट प्रहरीले गिरफ्तार गरेको हो ।

आफ्नो गिरफ्तारीबारे येचुरीले ट्विटमार्फत जानकारी गराएका छन् । येचुरीको पक्राउलाई लिएर भाकपाले भारतीय सरकारबाट गैरकानुनी कदम अघि बढेको भन्दै विरोध गरेको छ ।

भ्रमण तय गर्नु अघि येचुरी र राजाले जम्मू —कश्मीरका गभर्नर सत्यपाल मलिकलाई छुट्टाछुट्टै पत्र लेख्दा पनि नियतबस आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको भनाइ छ ।

यसअघि बिहीबार पूर्व मुख्यमन्त्री कांग्रेसका नेता गुलाम नवी आजादलाई पनि विमानस्थलबाट बाहिर जान रोक लगाइएको थियो ।

भारतीय जनता पार्टी नेतृत्वको सरकारले सोमबार जम्मू —कश्मीरको विशेषाधिकार खारेज गर्न त्यससँग सम्बन्धीत संविधानको अनुच्छेद ३७० खारेज गरेपछि त्यसलाई लिएर तनाव सुरु भएको छ ।

छिमेकी मुलुक पाकिस्तानले भारतसँगको व्यापार, हवाई, रेल लगायत सेवा बन्द गर्दै जम्मू —कश्मीरका लागि जे पनि गर्न तयार रहेको चेतावनी दिएको छ ।

भारत सरकारले पनि उक्त क्षेत्रमा सुरक्षा अवस्था कडा बनाएको छ भने अधिकारबाट बञ्चित त्यहाँका जनतालाई स्वतन्त्रता प्रदान गर्ने आश्वासन दिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६ शुक्रबार ००:००  ४ : १५ बजे