मायादेवी अनलाइन, वाणगंगा ।
कतिपय सडकहरु कहिले बने, कसले बनायो, कहिले भुक्तानी भयो सम्मको सुइँको कसैले पाउँदैन् । जहाँ बाटो बन्दै छ, त्यहाँका नागरिकले विहान, दिउँसो, साँझ प्रत्यक्ष देखे पनि अरुलाई त्यति चासो पनि हुँदैन् । सडक निर्माण नितान्त प्राविधिक काम भएकोले अरुले पनि त्यति मेसो पाउँदैनन् । सडकमा अलकात्रा प्रयोग गरेपछि पक्की बन्यो भन्ने प्राविधिक इतरका व्यक्तीको बुझाई हुन्छ । पछिल्लो समय सडक निर्माणमा निकै ठूलो चलखेल हुने गरेका सुचना सुनिनमा आउँछ । ठेकेदारले पनि प्राविधिकहरुसंग मिलेमतो गरी कमसल सडक निर्माण गरेका घटना पनि छ्याप छ्याप्ती सुनिन्छ । यति मात्र होइन् पछिल्लो समय उपभोक्ता समितिबाट बनेका विकास निर्माणका कामहरु त्यति गुणस्तर हुँदैनन् भन्ने आरोप लाग्ने गरेको छ ।
तर, कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ मा भने शुक्रबार फरक दृश्य देख्न पाइयो । विकास निर्माणमा प्रदेशमै सबैभन्दा बढी लागत सहभागीता दिई जनश्रमदानमा खटिने गरेका वडा नं. २ बासीले शुक्रबार फरक अनूभुति दिलाएका हुन् । शुक्रबार राजपुर देखि चाइन्टे चौपारीसम्मको सडक कालोपत्रे योजनाको सडक उद्घाटन समारोहमा त्यस्तो अनूभुति मिलेको हो ।
स्थानीयबासीको सक्रियतामा केन्द्र, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा २२ सय मिटर सडक कालापत्रे गरिएको छ । पश्चिम बैजलपुर, राजपुर हुँदै बैजलपुरसम्म १७ सय मिटर कालोपत्रे सडक निर्माण भएको हो । ८ मिटर चौडाई रहेको यो सडकमा ४ मिटर पक्की बनाइएको छ । जसमा प्रदेश सरकारबाट २५ लाख, नगरपालिकाबाट १३ लाख, स्थानीय सामुदायिक बनबाट २० लाख र स्थानीयको १९ लाख ६६ हजार गरी ९८ लाख बजेटमा सडक पक्की भएको उपभोक्ता समितिका सचिव यमलाल घिमिरेले बताउनुभयो ।
यसैगरी तीन कुने चोक देखि पश्चिम राजपुर हुँदै १ नं. वडा कार्यालय जोड्ने ६ सय मिटर सडकको कालोपत्रे सम्पन्न भएको छ । कुल ६५ लाखको लागतमा यो सडक कालोपत्रे भएको हो । जसमा केन्द्र सरकारबाट ४८ लाख र १७ लाख स्थानीयको उठाएका थिए । यी दुवै उपभोक्ता समितिबाट निर्माण सम्पन्न भएका सडक एउटै गन्तव्यमा पुग्न सकिने सडक हुन् । शुक्रबार यी दुवै सडकको शिलन्यास गरिएको हो । सबै गरी २२ सय मिटर कालोपत्रे भएको यो सडक नगरकै नमुना सडकको रुपमा रहेको छ ।
सडक निर्माण सम्पन्न भए पछि उपभोक्ता समितिले प्रदेशका सांसद विष्णु पन्थी, नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल, वडा नं. १ का वडाध्यक्ष बालकुमारी पन्त, वडा नं. २ का वडाध्यक्ष विष्णु पौडेल, वडा नं. ३ का वडाध्यक्ष सन्तराम रौतार, वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसाल, वडा नं. ६ का वडाध्यक्ष सुकदेव थारु, वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरी, वडा नं. १० का वडाध्यक्ष रामविहारी थारु, वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्याल, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई लगायतको उपस्थितीमा सडकको शिलान्यास गरिएको हो ।
सडक शिलान्यास पछि भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताले सडक निर्माणको खुलेरै प्रशंसा गरे । स्थानीयबासीको लाखौंको जनश्रमदानबाट सम्पन्न सडक गुणस्तरीय भएको भन्दै नगरकै नमुना सडक भएको बक्ताहरुले घोषणा गरे । नागरिकको विकास निर्माण प्रतिको चासोको पनि खुलेरै प्रशंसा गरे ।
२४ श्रावण २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया