मायादेवी अनलाइन, वाणगंगा ।
२५ औँ विश्व आदिबासी दिवस शुक्रबार नेपालसहित विश्वभर भव्यताका साथ मनाईदैं छ । यसै सन्दर्भमा कपिलवस्तुमा पनि वृहत कार्यक्रमको आयोजना भएको छ । दिवसको पूर्वसन्ध्यामा विहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको हो । बाणगंगा नगरपालिका—८ बोडगाउँको बौद्ध गुम्बामा आयोजना भएको पत्रकार सम्मेलनमा नेपाल मगर संघका प्रदेश ५ का अध्यक्ष विमल सारुले दिवसलाई आन्दोलनकै रुपमा मनाउने तयारी भएको जानकारी दिनुभयो ।
संविधानले ब्यवस्था गरे अनुसार अझै पनि आदिबासी जनजातिहरुले अधिकार र आरक्षण संरक्षित नभएको भन्दै यस बर्ष देशभरका आदिबासी जनजाति महासंघले दिवसलाई आन्दोलनकै रुपमा मनाउने निर्णय भएको उहाँको भनाई छ ।
मुलुकको पहिचान नै आदीबासी जनजातिहरुको पहिचान रहेकाले पहिचान सहितको संघीयताको मागमा आफूहरु टसमस नहुने सारुले बताउनुभयो । बिभिन्न समयमा शान्तिपूर्ण रुपमा आफ्ना आवाजहरु राख्दा राज्यले नसुनेको भन्दै अब चरणबद्ध आन्दोलनको विकल्प नभएको पनि सारुले बताउनुभयो । यसको लागि तुरुन्तै संविधान संशोधन गर्नुपर्ने उहाँको भनाई छ ।
स्थानीय तहको लागि भर्खरै लिइएको लोक सेवा आयोगको विज्ञापनमा पनि आदीबासीको अधिकारलाई हनन गरिएकोे भन्दै सारुले अब आफूहरुलाई त्यो मान्य नहुने बताउनुभयो । बाहुन र क्षेत्रीहरुमाथि आफुहरुको कुनै विरोध नरहेको भन्दै संविधानले दिएको ४५ प्रतिशत आरक्षण आफुहरुले खोजेको सारुको भनाई छ । कार्यक्रममा नेपाल मगर संघकी केन्द्रिय सदस्य लक्ष्मी सारु मगर, थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष उमाशंकर चौधरी, तामाङ घदुङ संघका जिल्ला अध्यक्ष कर्ण बहादुर लामा, कुशवाडिया समाजका अधयक्ष राम जनश कुशवाडिया लगायतको सहभागिता रहेको थियो ।
यस वर्षको दिवसको नारा पहिचान सहितको संघीयता र स्वायत्तताको लागि संविधान संशोधन हाम्रो साझा अभियान, २५ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशिताको लागि हाम्रो आन्दोलन रहेको छ ।
त्यसै अनुसार शुक्रबार विहान १० बजे चार नम्बर जितपुरबाट जातिय पहिचान झल्कने बिभिन्न भेषभूषा र बाजागाजासहित र्याली निकालिने र सद्धार्थ क्याम्पसमा पुगी कार्यक्रममा परिणत हुने थारु कल्याण कारिणी सभाका अध्यक्ष चौधरीले बताउनुभयो ।
शुक्रबारको कार्यक्रममा जनजाति महासंघमा आवद्ध बिभिन्न केन्द्रिय नेताले आफ्नो भनाई राख्ने पनि चौधरीले बताउनुभयो ।
प्रतिक्रिया