८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मुख्यमन्त्रीले दिए विष्णु पौडेललाई कडा जवाफ-ब्रह्मा नै आए पनि कालीगण्डकी डाइभर्सन हुँदैन्



कास्की ।
कालीगण्डकी डाइभर्सन बनाउन सबैलाई मनाउने स्वघोषणा गरेका नेकपा महासचिव विष्णु पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्रीले कडा जवाफ दिनुभएको छ । नेकपा प्रदेश इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भन्नुभएको छ, उहाँले अर्को विष्णु वा ब्रहृमा, महेश्वर ल्याए पनि सम्भव छैन ।’
सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा नेकपा महासचिव पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्रीका साथै पाल्पा, स्याङ्जा, तनहुँबासीलाई मनाउने जिम्मा आफ्नो भएको बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘४ नम्बर प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको सुनेको छु । तर उहाँहरुलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो ।’
तर गण्डकीका मुख्यमन्त्री गुरुङले कालीगण्डकी डाइभर्सनको रहर नगर्न पौडेललाई आग्रह गर्नुभएको छ । ‘अर्को विष्णु, ब्रह्मा, महेश्वर ल्याएपनि सम्भव छैन,’ उहाले भन्नुभएको छ । उहाँको प्रश्न छ कालीगण्डकी डाइभर्सन किन चाहियो ? ५०/६० मेगावाट बिजुली उत्पादन गर्ने यो परियोजना नबन्दा नेपाल अँध्यारो हुन्छ ?
महासचिव पौडेलले धेरै ठाउँमा कालीगण्डकी डाइभर्सनबारे बोलेको सुनेको तर अहिलेसम्म आफूलाई केही नभनेको उहाले सुनाउनुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘मैले धेरै ठाउँमा उत्तर पनि दिएको छु, यो पृथ्वीसुब्बाको निजी मामिला होइन ।’
संघीय शासन प्रणालीमा साझा नदी, खानी जस्ता प्राकृतिक स्रोतको प्रयोग कसरी गर्छन् भन्ने सबैले बुझ्नुपर्ने उहाले बताउनुभयो । पौडेल अर्थमन्त्री भएको बेला ल्याएको कार्यक्रम भन्दैमा लागू नहुने भन्दै मुख्यमन्त्री गुरुङले अघि भन्नुभयो, ‘त्यस्तो हुने हो भने त ज्ञानेन्द्रको शासन मान्नुर्पयो किनकी उनी पनि कुनै दिन शासक थिए ।’ उहाँले हिजोका कुरा लागू गर्छु भन्ने प्रयास छाड्न पार्टी महासचिव पौडेललाई सुझाव दिनुभयो ।
विष्णु पौडेल अर्थमन्त्री भएको बेला कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलवस्तुमा सिंचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना घोषणा भएको थियो । मुख्यमन्त्री गुरुङले कपिलवस्तु र रुपन्देहीमा सिंचाइका लागि परियोजना बनाउन खोजेको हो भने कालीगण्डकी छाडेर राप्ती नदीमा डाइभर्सन बनाउन चुनौती दिनुभएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६ बिहिबार ००:००  ६ : ०० बजे