८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भारतले भन्यो : पाकिस्तानको निर्णयले हामी अचम्भित छौं



एजेन्सी ।
भारतसँगको राजनीतिक सम्बन्ध साँर्घुयाउने तथा व्यापारिक कारोबार बन्द गर्ने निर्णयबारे पुनर्विचार गर्न भारतले पाकिस्तानलाई अपिल गरेको छ । आफ्नो उक्त निर्णय पुष्टि गर्न पाकिस्तानले दिएको तर्क तथ्यसंगत नभएको भारतको ठम्याइ छ । भारत सरकारले जम्मु–कश्मीरले प्राप्त गर्दै आएको ’विशेष दर्जा’ खारेज गरिदिएछि पाकिस्तानले एक उच्चस्तरीय बैठकमार्फत भारतसँगको राजनीतिक सम्बन्ध खुम्च्याउने र द्विपक्षीय व्यापारिक सम्बन्ध निलम्बित गर्ने घोषणा गरेको थियो ।
पाकिस्तानको उक्त घोषणाप्रति प्रतिक्रिया जनाउँदै भारतको विदेश मन्त्रालयले आज जारी गरेको वक्तव्यमा भनिएको छ, ’भारत सरकारबारे पाकिस्तानले गरेको निर्णयप्रति खेद जनाउँछौँ । हामी पाकिस्तानलाई उक्त निर्णयप्रति पुनर्विचार गर्न अपील पनि गर्छौं, जसबाट कूटनीतिक सम्बन्ध अविच्छिन्न रहिराखोस् ।’ भारतले आफ्नो वक्तव्यमा भनेको छ, ’अनुच्छेद ३७० बारे गरिएको निर्णय जम्मु–कश्मीरको विकासलाई लक्षित गरी लिइएको हो । यसलाई नकारात्मक रुपमा हेर्नुहुँदैन ।’
‘भारतीय सरकार र संसदद्वारा जम्मु–कश्मीरको विकास गर्ने प्रतिवद्धतासहित यो निर्णय लिइएको हो, जसलाई एक अस्थायी संवैधानिक प्रावधानले रोकिराखेको थियो । भारत सरकारले लिएको निर्णयबाट त्यहाँ लैंगिक, सामाजिक तथा आर्थिक भेदभावको अन्त्य हुनेछ, आर्थिक गतिविधि बढ्नेछ र स्थानीयको जीवनस्तरमा पनि सुधार आउनेछ,’ भारत सरकारले आफ्नो वक्तव्यमा भनेको छ । उसले अगाडि भनेको छ, ’हाम्रो यस्तो सकारात्मक प्रयासलाई पाकिस्तानले नकारात्मक रुपमा लिएको देख्दा हामी अचम्भित भएका छौं । पाकिस्तानले सीमा–पार आतंकवादलाई जायज ठर्हयाउन भावनाको प्रयोग गर्दै आएको छ।’ साथै भारतले, अनुच्छेद ३७० बारे लिइएको फैसला आफ्नो आन्तरिक मामिला भएको पनि बताएको छ । उसले भनेको छ, ’डर फैलाएर यसमा हस्तक्षेप गर्ने कोशिस कहिल्यै सफल हुनेछैन ।’
प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बुधबार बसेको पाकिस्तानी राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँगको दोहोरो सम्बन्ध अन्त्य गर्ने घोषणा गर्दै कश्मीर मामिलालाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा उठाउने निर्णय गरेको थियो ।
यसैबीच, पाकिस्तानले आफ्नो हवाई क्षेत्रको एउटा करिडोर बन्द गरिदिएको छ। पाकिस्तानको उक्त निर्णयले समुन्द्रपार जाने भारतीय जहाजलाई अतिरिक्त १२ मिनेट समय लाग्नेछ। दोस्रो रुटमार्फत जानुपर्ने भएकाले यस्तो स्थिति आएको हो, भलै यो निर्णयले खासै फरक नपर्ने भारतीय अधिकारीहरुले जनाएका छन् । पाकिस्तानको हवाई क्षेत्र हुँदै एअर इन्डियाका जहाजले दैनिक ५० फ्लाइट भर्छन्, जो अमेरिका, यूरोप र मध्यपूर्वका देशका लागि हुने गर्दछन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६ बिहिबार ००:००  ३ : ५३ बजे