कमला घिमिरे, बुद्धभूमि ।
वर्षायामसँगै गर्मी बढ्दै जाँदा कपिलवस्तुको गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रमा आउने विरामीको भीड एक्कासी बढेको छ । साउन नसकिदै केन्द्रमा ८५ जना सर्पदंशका विरामी उपचार गराउन आएका छन् । जसमध्ये झारफुकमा लागि ढिलो गरी आउँदा ४ जनाको ज्यान गएको छ ।
अन्धविश्वासका कारण सर्पको टोकाईवाट झारफुकमा लागि समयमा उपचार गराउन गोरुसिँगे सर्पदंश उपचार केन्द्रमा नआएको भए आफ्नो ज्यानै जाने रोल्पा लिवाङं नगरपालिका १ की मिरा घर्तीले सुनाउनुभयो । उहाँ मात्र होइन, प्युठान बड्डाँडाका मेघ बहादुर कुँवर पनि छोरीलाई सर्पले टोकेपछि झारफुकमै लाग्दा उपचार जटिल भएको बताउनुहुन्छ ।
वर्षासँगै चर्को गर्मी बढ्दै जाँदा साउन नसकिदै गोरुसिँगे सर्पदंश उपचार केन्द्रमा ८५ जनाको उपचार भएको छ भने ४ जनाको ज्यान गएको केन्द्रका सचिव नविन भण्डारीले बताउनुभयो ।
२०६० सालदेखि नेपाली सेनाको प्राविधिक सहयोग, जिल्ला अस्पतालको औषधी तथा बुद्धभूमि नगरपालिकाको भौतिक सहयोगमा सर्पदँश केन्द्र सन्चालमा छ । उपचार केन्द्रमा कपिलवस्तुका अतिरिक्त दाङ, प्युठान, रोल्पा, अर्घाखाँची, रुपन्देही र भारतको सिद्धार्थनगर आसपासवाट समेत दैनिक विरामी आउने गर्दछन् ।
वितेको ४ दिनमा शिवराज र बाणगंगा नगरपालिकामा एक बालक, एक पुरुष र एक महिला गरी ३ जनाको मृत्यु भइसकेको छ । चिकित्सकहरुले यो समयमा सर्पको जोखिम बढी हुने हुँदा सचेत रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया