लुम्बिनी ।
बितेको सात महिनामा बुद्ध जन्मस्थल लुम्बिनीमा साढे ९ लाख पर्यटक घुम्न आएका छन् । गत ७ महिना (जनवरीदेखि जुलाईसम्म) मा ९ लाख ६० हजार २ सय ६० जनाले लुम्बिनी घुमेको लुम्बिनी विकास कोषले जनाएको छ ।
यो अवधिमा १ सय ४ देशका पर्यटक लुम्बिनी घुम्न आएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव एवं योजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराईले बताए ।
गत सात महिनामा तेश्रो मुलुक (राहदानीबाहक) बाट ८६ हजार ५ सय ३१ पर्यटक लुम्बिनी आए भने ७ लाख ६३ हजार ४ सय ३१ नेपालीले लुम्बिनी घुमे । यस्तै छिमेकी मुलुक भारतबाट १ लाख १० हजार २ सय ९८ पर्यटक लुम्बिनी घुम्न आएका थिए ।
विदेशी पर्यटकहरूको संख्या गत वर्षको सोही अवधिको तुलनामा १२ हजार ४ सय २ जना अर्थात् १६ प्रतिशतले बढी रहेको लुम्बिनी विकास कोष सूचना शाखाका नायब सुब्बा दिलिप कुलुंगले बताए । अघिल्लो वर्षको सोही अवधिमा ७४ हजार १ सय २९ जना विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।
७ महिनामा लुम्बिनी आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंकाका पर्यटक छन् । सो अवधिमा १९ हजार २ सय ३९ श्रीलंकनले लुम्बिनी भ्रमण गरेका छन् । त्यसपछि म्यान्मारका १६ हजार ९ सय ५६, थाई १५ हजार ९ सय २०, चिनीयाँहरू १२ हजार ८ सय ७, दक्षिण कोरियाका ३८ सय ४६, भियतनामीहरू २९ सय ९६, जर्मनीका १८ सय, स्वीट्जरल्याण्डका १३ सय ४८, जापानका १२ सय ३६, अमेरिकाका ११ सय ८९, फ्रान्सका १ हजार २३ पर्यटक लुम्बिनी आए ।
लुम्बिनी घुम्न आउने पर्यटकले मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कण्ड, विश्व शान्ति दीपलगायत विभिन्न स्वदेशी तथा विदेशी बिहार अवलोकन गर्छन् ।
केही पर्यटक चराचुरुङ्गी हेर्न र साइक्लिङमा पनि रमाउने गर्छन् । केही पर्यटक कपिलवस्तु र नवलपरासीका विभिन्न बौद्धस्थल र रामग्राम स्तुपासम्म पुग्ने गरेका छन् । स्थलमार्ग हुँदै आउने बुद्धिष्ट देशहरू श्रीलंका, थाइल्याण्ड, भियतनाम, म्यान्मार, दक्षिण कोरियालगायतका देशका पर्यटकहरू सोही दिन या एकरात लुम्बिनीमा बसी फिर्ता जाने गरेतापनि युरोपियनलगायत चीन एवं अन्य देशका पर्यटक भने नेपालका अन्यत्र क्षेत्रमा भ्रमणका लागि जाने गरेका छन् ।
भैरहवाबाट लुम्बिनीसम्म पुग्ने सडक बाटो निर्माणका क्रम जारी रहेको समयमा पनि विदेशी पर्यटक बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ ।
२१ श्रावण २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया