८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगा नगरपालिकाको वडा नं.११ विद्युत चुहावट मुक्त क्षेत्र घोषित



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकालाई विद्युत चुहावट मुक्त नगर बनाउने अभियानलाई जारी राखिएको छ । मंगलबार साविक हथौसा गाविस र हालको वडा नं. ११ लाई एक कार्यक्रमका बीच विद्युत चुहावट मुक्त क्षेत्र घोषणासंगै अभियानलाई जारी राखिएको हो । यस भन्दा अगाडी नगरपालिकाका वडा नं. २ र वडा नं. ७ लाई विद्युत चुहावट मुक्त बनाइ सकिएको छ ।
वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले वडा नं. ११ आज देखि विद्युत चुहावट वडा भएको घोषणा गर्नुभयो । विद्युत चुहावट एक दिन घोषणा गर्दैमा अन्त्य हुन्छ भन्ने नभएको भन्दै नगर प्रमुख थारुले अभियानलाई जारी राख्नुपर्नेमा जोड दिनुभयो ।
नगर उपप्रमुख चक्रपाणी अर्यालले वाणगंगाका वडाहरु धमाधम विद्युत चुहावट मुक्त क्षेत्र घोषणा हुनु राम्रो कुरा भएको बताउनुभयो । अभियानलाई जारी राख्नुपर्ने उहाँको भनाई छ । विद्युत मिटर प्राप्त गर्न नसकेका नागरिकलाई वडाले निशुल्क विद्युत मिटर दिने भन्ने विद्युत चुहावट नगर्न उहाँले आग्रह गर्नुभयो ।
वडाध्यक्ष सोमनाथ अर्यालले वडाबासीको अथक प्रयासले वडालाई विद्युत चुहावट मुक्त क्षेत्र घोषणा गर्न सकिएको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा डेढ सय बढी नागरिकलाई निशुल्क विद्युत मिटर प्रदान गरिएको थियो । उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, नेपाल विद्युत प्राधिकरण तौलिहवाका प्रमुख जयकुमार यादव, वडा नं. २ का वडाध्यक्ष तथा नगर प्रबक्ता विष्णु पौडेल, वडा नं. १ की वडाध्यक्ष बालकुमारी अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
वाणगंगा नगरपालिका चालिएको विद्युत चुहावट अभियानमा विद्युत वितरण केन्द्र तौलिहवाले पनि सहकार्य गरेको छ । निशुल्क विद्युत मिटर जडान देखि प्राविधिक काममा प्राधिकरणले साथ दिदै आएको छ । देश लोडसेडिङ मुक्तसंगै प्राधिकरण अहिले चुहावट रोक्ने प्रयासमा छ । यही प्रयासमा रहेको प्राधिकरणलाई वाणगंगा नगरपालिकाले साथ दिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६ मंगलबार ००:००  ८ : ०७ बजे