८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

जम्मू–कश्मीर २ भागमा विभाजन हुने निश्चित, खोसियो स्वायत्त राज्यको अधिकार



एजेन्सी ।
भारतीय जनता पार्टी (भाजपा)नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरलाई स्वायत्त राज्यको दर्जा प्रदान गरेको अनुच्छेद ३७० खारेज गरेको छ ।

गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरलाई विशेष दर्जा दिएको अनुच्छेद ३७० अन्त्य भएको घोषणा गरेका हुन् । उनले सोमबार राज्यसभामा यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि जम्मू–कश्मीरको राजधानी श्रीनगरमा धारा १४४ लागु गर्दै जम्मूमा कर्फ्यूको घोषणा गरिएको थियो । जम्मू–कश्मीरका शीर्षनेताहरुलाई नजरबन्दमा राखेर भाजपा सरकारले यस्तो कदम उठाएको हो ।

अनुच्छेद ३७० अनुसार जम्मू–कश्मीर सम्बन्धी अधिकांश नीति निर्माणका लागि केन्द्र सरकारले राज्य सरकारसँग सोध्नु पर्ने थियो । तर अब जम्मू–कश्मीर स्वायत्त राज्य रहेन । यो केन्द्र शासित दुई राज्य बनेको छ ।

अब दुई लेफ्टिनेन्ट गवभर्नरले शासन गर्ने छन् । लद्दाख केन्द्र शासित प्रदेश बन्ने छ, जहाँ विधानसभा हुने छैन । यस्तै जम्मू–कश्मरिमा भने एक विधानसभा हुनेछ ।

गृहमन्त्रीले राज्यसभामा अनुच्छेद ३७० अन्त्यको घोषण गर्नु पूर्व प्रधानमन्त्री मोदी निवासमा मन्त्रीपरिषदको बैठक बसेको थियो । नयाँ विधेयक अनुसार जम्मू–कश्मीरको पुनर्गठन हुनेछ । जम्मू–कश्मीरलाई दुई भागमा बाँडेर केन्द्रशासित प्रदेश बनाइने भएको छ ।

संविधानको अनुच्छेद ३७० अनुसार सुरक्षा र विदेश मामिला बाहेकमा जम्मू–कश्मीरमा केन्द्रले हस्तक्षेप गर्न पाउने थिएन । सन् १९४७ मा स्वायतत्ताको आधारमा भारतमा मिसिएको जम्मू–कश्मीरको सो अधिकार खोसिएको हो ।

प्रकाशित मिति : २० श्रावण २०७६ सोमबार ००:००  २ : ४१ बजे