मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा अवस्थित मायादेवी मिडिया ग्रुप प्रदेश ५ मा अलकधारका रुपमा रहेको जनप्रतिनिधि र सरोकारवालाले बताउनुभएको छ । ग्रुपमा आवद्ध मायादेवी अनलाइन डटकम र रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले राखेको आर्थिक र पर्यटन विकासमा मायादेवी बहसमा सहभागी हुँदै प्रदेश सांसद, जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल र उद्योगी व्यवसायीले मायादेवी मिडिया ग्रुपले सञ्चारको जगतमा खेलेको एक बर्षको भूमिका प्रशंसनिय भएको बताउनुभएको हो ।
बहसमा सहभागी हुँदै प्रदेश ५ सांसद विष्णु पन्थीले राज्यका चौथो अंगका रुपमा रहेको सञ्चारले सकारात्मक तवरबाट राष्ट्र विकासमा भूमिका खेल्नुपर्ने बताउनुभयो । लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै सांसद पन्थीले अब देश विकासमा पनि सञ्चार माध्यमको भूमिमा महत्वपूर्ण रहनुपर्नेमा जोड दिनुभयो । पत्रकारिता विना लोकतन्त्र सम्भव नभएको भन्दै यसमा सञ्चार माध्यमहरु जिम्मेवार बन्नुपर्ने उहाँ तर्क गर्नुभयो ।
विकसित देश र विकासोन्मुख देशको पत्रकारिता फरक फरक हुने भन्दै उहाँले राज्यका गलत कुरा भन्दा विकास निर्माणको विषय समाचारका मुख्य शिर्षक हुनुपर्ने बताउनुभयो । समाजलाई खबरदारी गर्नु पत्रकारिताको मूल धर्म भएको बताउँदै सांसद पन्थीले भन्नुभयो, ‘सञ्चार माध्यमले सहीलाई सही र गलतलाई गलत भन्न सक्नु पर्दछ ।’
काम गर्ने दौरानमा राज्यबाट कमजोरी हुनु स्वभाविक रहेकाले त्यही कमजोरीलाई लिएर खबर सम्प्रेषण गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा मूलुकको गरिमा खस्कने बताउँदै विकास पत्रकारितामा पत्रकारका कलमहरु चल्नुपर्नेमा उहाँको जोड छ ।
मूलुकमै सञ्चार माध्यमको धमाधम विकास भैरहदा कपिलवस्तुमा पनि यो क्रम रहेको बताउँदै सांसद पन्थीले मायादेवी मिडिया ग्रुपको भूमिका जिल्लामा फरक खालको रहेको आफुले पाएको बताउनुभयो । एक बर्षको दौरानमा जनजीविकाका सवाल, समाजमाथिको विकृती, बलत्कार, अपराध, दण्डहिनता, भ्रष्ट्राचार र वेथितीमाथि मायादेवी अनलाइन डटकम र रेडियो मायादेवीले निरन्तर खबरदारी गर्दै आफ्नो सामग्री प्रस्तुत गरेकोमा सबैलाई धन्यवाद दिनुभयो । उहाँले अरु सञ्चार माध्यमपनि कुनै दलगत स्वार्थमा नलागी निष्पक्ष भएर काम गर्दा जनताले सही सुचना पाउने तर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।
अधिकांश समय सञ्चारकै बारेमा बोल्नुभएका पन्थीले छिमेकी जिल्ला रुपन्देही विकासमा देशमै नमुना बन्दा कपिलवस्तु निकै पछाडि रहेको सन्दर्भ कोट्याउदै अब कपिलवस्तुका सबै सञ्चार माध्यमहरु कपिलवस्तुको विकासमा घोत्लिनु पर्ने बताउनुभयो ।
स्थानीय तहका जनप्रतिनिधि के भन्छन् ?
मायादेवी वहशमा सहभागी स्थानीय सरकारका जनप्रतिनिधिले पनि रेडियो मायादेवी र मायादेवी अनलाइन डटकमको खुलेरै प्रशंसा गर्नुभएको छ । शिवराज नगरपालिकाका नगर प्रमुख तथा जिल्लाका पाका नेता नेत्रराज अधिकारीले सञ्चार माध्यमको विकासमा आफ्नो नगरपालिकाबाट सक्दो सहयोग रहेको बताउनुभयो । जिल्लामा सञ्चार माध्यम खोल्नेक्रम बढीरहेको भन्दै एक बर्ष अगाडी खुलेको मायादेवी मिडियाले राम्रै काम गरेको आफुले पाएको बताउनुभयो । जिल्लामा सञ्चार माध्यमको विकाससंगै पत्रकारहरु पनि धेरै रहेको भन्दै अब पत्रकारितालाई बौद्धिक पेशाको रुपमा लैजानुपर्नेमा जोड दिनुभयो । ‘समाजलाई सकारात्मक दिशा देखाउने मुख्य व्यक्ति पत्रकार नै हुन् नगर प्रमुख अधिकारीले भन्नुभयो, त्यसले यो पेशालाई मर्यादित बनाउनुपर्छ ।’
पत्रकारिताका विविध पक्षमाथि टिप्पणी गर्नुभएका नगर प्रमुख अधिकारीले आफु पत्रकारबाट पनि पीडित भएकोमा गुनासो गर्नुभयो । पत्रकारहरु बीचकै अस्वथ्य प्रतिस्पर्धाले आफुलाई समस्यामा पार्ने गरेको बताउदै पत्रकारहरु एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । पत्रकारले नराम्रो मात्र होइन् राम्रो पनि देख्नु पर्छ तर यहाँ कता कता आफ्नो पेशा भन्दा आफ्नो स्वभावअनुसारको पत्रकारिता गरिने गरेको मैले पाएको छु, उहाँले भन्नुभयो, ‘यसले सिंगो पत्रकारिता मात्र होइन्, सिंगो समाजलाई नै राम्रो गर्दैन ।’ आफुको पत्रकारलाई हेर्ने दृष्टिकोण समान रहेको भन्दै राम्रो गर्नेलाई सधै साथ दिने प्रतिवद्धता जनाउनुभयो ।
वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले मायादेवी मिडिया ग्रुपले एक बर्षमा खेलेको भूमिकाको खुलेरै प्रशंसा गर्नुभयो । अनिता हत्याकाण्ड देखि समाजमा घट्ने हरेक घटनामा मायादेवी अगाडि रहेको भन्दै अझै निरन्तरताको शुभकामना दिनुभयो । आफ्नो नगरबाट यहाँका मिडियालाई हेर्ने दृष्टिकोण समान रहेको उहाँले धारणा राख्नुभयो । स्थानीय स्तरको विकासमा सञ्चार माध्यमसंगको सहकार्यले मात्र सम्भव भएको नगर प्रमुख थारुले बताउनुभयो । जनप्रतिनिधि र पत्रकार संगसंगै जान सके मात्र सोचेको विकास हुन्छ उहाँले भन्नुभयो ।
वाणगंगा नगरपालिकाका नगर उप प्रमुख चक्रपाणी अर्यालले पत्रकारिता पेशालाई धन पैसा कमाउने पेशामा रुपमा नलिन आग्रह गर्नुभयो । पत्रकारिता बौद्धिक पेशा भएकोले यस तर्फ कपिलवस्तुका पत्रकारहरु जानुपर्नेमा जोड दिनुभयो । एउटा पत्रकारको लेखले राज्यसत्ता ढल्छ, भ्रष्ट्राचारको अन्त्य हुन्छ त्यति पावर पत्रकारितामा छ उहाँले भन्नुभयो । विश्वका महान नेताहरु पत्रकारिताबाटै अगाडि बढेको भन्दै यो पेशामा थुप्रै सम्भावना र अवसर रहेको बताउनुभयो । मायादेवी मिडिया ग्रुपको टिम लोभलाग्दो रहेको बताउँदै सबैसंग सहकार्य गरेर अगाडि जान सके दीर्घकालिन रुपमा राम्रो हुने सुझाव दिनुभयो । नगरपालिका भित्र रहेको मायादेवी मिडिया ग्रुपलाई हेर्ने दृष्टिकोण आफुहरुको सधै सकारात्मक रहेको उहाँको भनाई छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले व्यवसायिक क्षेत्रको विकासले मात्र मिडियाहरु टिक्न सक्ने भन्दै कपिलवस्तुमा लगानीमैत्री वातावरणका लागि मिडियाले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उद्योगधन्दा, कलकारखानाको विकाससंगै मिडियाको श्रीबृद्धि हुने कुरामा मिडिया सञ्चालकले बुझ्नुपर्नेमा जोड दिनुभयो । मायादेवी मिडिया ग्रुपमाथि आफु सधै सराकात्मक रहेको भन्दै यसले एक बर्षमा खेलेको भूमिकाको खुलेरै प्रशंसा गर्नुभयो ।
बहसमा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वाणगंगा नगरपालिकाका सबै वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया