एजेन्सी ।
नयाँ सिजन सुरु हुनुअघिको वार्षिक प्रतिस्पर्धा कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटी विजयी भएको छ। आइतबार राति वेम्बलीमा भएको खेलमा प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग विजेता लिभरपुललाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै तर्फबाट एक–एक गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । १२ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको गोलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सुरुवाति अग्रता लियो । लिभरपुलका लागि ७७ औँ मिनेटमा मातिपले गोल गरेका हुन् ।
त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा धकेलियो । पेनाल्टी सुटआउटमा म्यानचेस्टर सिटी ५–४ ले विजयी भएको हो।लिभरपुलका जर्जिनिओ विनाल्डमको प्रहार सिटीका गोलरक्षक क्लाउडिओ ब्राभोले रोके । सिटीका लागि गाब्रिएल जिससले विजयी पेनाल्टी गोल गरेका हुन् ।
निर्धारित समयमा स्ट्रर्लिङ्गको गोलपछि दोस्रो हाफमा तीन पटक वुडवर्क प्रहार भएको थियो । लिभरपुलका भर्जिल भान डिजेक र मोहम्मद साहलले गरेका प्रहार गोलमा परिणत हुन सकेनन् ।
प्रतिक्रिया