८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मेसीमाथि तीन महिना प्रतिबन्ध



काठमाडौं ।

अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेसी तीन महिना प्रतिबन्धमा परेका छन् । दक्षिण अमेरिकन फुटबलको सर्वोच्च निकाय कोनमेबोलले कोपा अमेरिकाका दौरान मेसीले भष्टाचार र आपत्तिजनक शब्द प्रयोग गरेका कारण तीन महिना प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ । ‘कोपा अमेरिकामा मेसीले दक्षिण अमेरिकी फुटबल महासंघ नै भ्रष्टाचारमा डुबेको भन्ने शब्द प्रयोग गरे,’ कोनमेबोलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएका मेसीले क्लबस्तरीय प्रतियोगितामा भने सहभागिता जनाउन पाउनेछन् ।

५० हजार डलर जरिवाना

कोनमेबोलले मेसीलाई तीन महिनाको प्रतिबन्ध मात्र लगाएन, ५० हजार डलर जरिवानासमेत तिराएको छ । मेसीले आफ्नो प्रतिबन्ध र जरिवनाप्रति अपिल गर्न सक्छन् । तर, यसका लागि मेसीसमक्ष एक साताको मात्र समय रहनेछ । मेसीको अपिल खारेज भएमा कोनमेबोलको निर्णय शतप्रतिशत लागू हुने एजेन्सीले जनाएका छन् । यता अन्तर्रा्ष्ट्रिय एजेन्सीले मेसी कारबाहीबाट उम्कन नसक्ने दाबी गरेका छन् ।

कोपा अमेरिकामा विवादास्पद अभिव्यक्ति दिएका अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कोनमेबोलद्वारा तीन महिना प्रतिबन्ध लगाउने निर्णय

चिलीविरुद्धकोे खेलमा मुख खोले

कोपा अमेरिका चलिरहँदा आयोजक ब्राजिललाई जिताउने किसिमको रणनीति तयार पारेको सुरुवाती प्रतिक्रिया मेसीले दिएका थिए । ब्राजिललाई उपाधि दिलाउन सबै लागेको उनको भनाइ थियो । सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि मेसीले अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यममा एक किसिमको माहोल नै परिवर्तन गरे । अझ तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मेसीले विनाकारण रातो कार्ड पाए । चिलीका खेलाडी गेरी मेडलकै गल्तीमा मेसीले सामान्य विवाद गर्दा सीधै रातो कार्डको सामना गर्नुपरेको थियो । रेफ्रीले रातो कार्ड देखाउँदा मेसी र अर्जेन्टिनी खेलाडी स्तब्ध भए । यद्यपि खेल अर्जे्न्टिनाले २–१ ले जित्यो, तर मेसी खुसी थिएनन् । ‘दक्षिण अमेरिका फुटबल महासंघ भ्रष्ट छ, सबै पैसाको पछाडि लागेका छन्,’ त्यसवेला मेसीले भनेका थिए, ‘अझ आयोजकलाई जिताउने किसिमको ड्र र खेलहरू भइरहेका छन् ।’ मेसीले यस्तो विवादास्पद टिप्पणी दिएपछि अफिसियलले पनि कडा रूपमै प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मैत्रीपूर्ण खेल गुमाए

कोनमेबोलको निर्णयसँगै अब ३२ वर्षीय मेसीले केही मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल गुमाउने पक्का भएको छ । अर्जेन्टिनाले यस वर्षको सेप्टेम्बरमा चिली र मेक्सिकोविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । अपिलमाथि केही सुनुवाइ नहुँदा मेसीले दुवै खेल गुमाउनेछन् । यसैगरी, अक्टोबरमा अर्जेन्टिनाले जर्मनीविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ । यसअघि रातो कार्डस्वरूप मेसीले दक्षिण अमेरिकी विश्वकप छनोटको एक खेल गुमाइसकेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६ आइतबार ००:००  १ : ३० बजे