८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चन्द्रौटा खानेपानीको आय–व्यय किन हुँदैन सार्वजनिक ? प्रशासनले दियो यस्तो निर्देशन



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रका बासिन्दाहरु लामो समयसम्म पानीको अभाव झेल्दै आएकोमा वि.सं.२०७१ सालमा चन्द्रौटा क्षेत्र भित्र रहेका घर परिवारलाई शुद्घ पिउने पानी उपलब्ध गराउने उद्घेश्यका साथ संस्था गठन गरेका थिए । संस्था गठन भएको ५ वर्ष बित्दा पनि आपसी बिवादले गर्दा यस क्षेत्रका खानेपानी उपभोक्ता मर्कामा परेका छन् ।
संस्थाको गतिविधि संचालन गर्दा आर्थिकरुपमा पारदर्शिता नहुँदा समय समयमा विवाद आउने गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् । गत असार महिनामा खानेपानीको धारमा धमिलो र माटो मिसिएको पानी आए पछि उपभोक्ताहरुले सामाजिक संजाल मार्फत व्यापक गुनासो गरेका थिए । खानेपानीको आयोजना सम्पन्न भएपनि पानीको गुणस्तरताबारे उपभोक्ताहरुले विरोध जनाउँदै आएका छन् ।
कुनै पनि काम गर्दा उपभोक्तालाई जानकारी नदिने आयव्यय सार्वजनिक नगर्ने यस विषयमा पटक पटक व्यवस्थापन पक्षसंग कुरा राख्दा सुनवाई नगरेको चन्दौटा निवासी जगत बेल्वासे बताए । वि.सं. २०७१ सालमा चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । संस्था गठन भएको ५ वर्ष बित्दा समेत साधारणसभा र अधिवेशन नभएको रहटकोल निवासी उत्तम कुमार थारुले बताए ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दर्ता हुँदा तदर्थ स्दस्यका रुपमा चयन भएका व्यक्तिहरु हाल ५ वर्ष बित्दा समेत अधिवेशन नगर्नु संस्थाको आय व्यय तथा संस्था नविकरणको विषयमा इलाका प्रशासन कार्ययालय चन्द्रौटामा लिखित उजुरी परेको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाले यस विषयमा चासो देखाउदै एक महिना भित्र साधारणसभा गरी लेखा प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको इलाका प्रशासन कार्यालयका प्रमुख विजयराज पौडेलले बताए ।
चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानी आयोजना सम्पन्न गर्न २५ प्रतिशत नगर विकास कोषको ऋण, ५ प्रतिशत उपभोक्ता र साना शहरी खानेपानी तथा सरसफाई आयोजनको लगानी रहेको छ । खानेपानी निर्माण कार्यको जिम्मा पाएको चन्द्र एण्ड वसन्त नेपाल आर्दश जे.भी कम्पनीलाई १६ करोड भुक्तानी गरिएकोे संस्थाका कोषाध्यक्ष ओम बहादुर सिंजाली बताए ।
संस्थाले बनाएको विधान २०७१ ले प्रत्येक वर्ष साधारणसभा र वार्षिक कार्ययोजना बनाई साधारण सभामा पेश गर्ने प्रावधान रहेको छ । विधानले कार्यसमितिको अधिवेशन प्रत्येक ४ वर्षमा हुने उल्लेख भएपनि मनपरी ढंगले संस्था संचालन गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् । संस्थाले विधानमा १०२८ घरधुरी, उपभोक्ता ७५२१ र वडा न ६, ८, १० लाई आफनो कार्यक्षेत्र रहेको विधानमा स्पष्ट लेखेको छ ।
संस्थाले वि.स २०७६ साउन महिना सम्म १२८३ धारा जडान गरेको र १७ धारा जडान गर्न बाँकी रहेको संस्थाका अध्यक्ष मोहमद तौफिक खाँ बताए । संस्थाको विधानले ४ वर्षमा अधिवेशन गर्नु पर्ने प्रावधान राखेको तर विधान अनुसार कुनैपनि काम कारवाही नभएको चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष खाँले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६ आइतबार ००:००  ११ : ०८ बजे