८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

फोहोर व्यवस्थापन नगरको चुनौती : मेयर थारु



मायादेवी अनलाइन, वाणगंगा ।

वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले फोहोर व्यवस्थापन नगरको चुनौतीको रुपमा रहेको बताउनुभएको छ । बढ्दो शहरीकरण संगै ल्याण्डफिल्ड साइटको व्यवस्थापन नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा ‘म सफा गर्दछु मेरो नगर’ भन्ने अभियान संचालन गरिरहेको पनि जानकारी दिनुभयो ।

मेयर थारुले ल्याण्डफिल्ड साइटको व्यवस्थापन नहुँदा वाणगंगा नदीको छेउमा फोहोरमैला फाल्दा नदीसंगै आसपासको क्षेत्र दुर्गन्धित भएकोले यसतर्फ नगरपालिकाको ध्यान पुगेकोले फोहोरमैला अन्यत्र व्यवस्था मिलाउने बताउनुभयो । नगरपालिकाले समिति बनाएर काम थालेपनि हालसम्म फोहोरमैला व्यवस्थापनको लागि जग्गा व्यवस्थापनमा ठोस काम हुन नसकेको स्वीकार्नुभयो । उहाँले चारनम्बर बजार क्षेत्रमा जग्गाको अभावले सार्वजनिक शौचालय बनाउन नसकिएको उल्लेख गर्दै जग्गाको उपलब्धता हुनासाथ नगरपालिकाले सार्वजनिक शौचालय बनाउने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बजार क्षेत्रमा ढलको समस्या धेरै देखिएकाले यसले मानव स्वास्थ्यमा विकराल समस्या आउने भएकाले यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले नगरको विकास संगसंगै बजार क्षेत्रको फोहोरमैला व्यवस्थापन र ढल निकासको समस्या समाधानमा नगरपालिकाले ठोस योजना बनाएर जाने बताउनुभयो ।

पछिल्लो समय सार्वजनिक जग्गा, बाटो, कुलो आदी मिचेर संरचना बनाउदा पनि यस्तो समस्या आएको बताउनुभयो । कार्यक्रममा सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, सिद्धार्थ सामाजिक विकास केन्द्रकी चेतना अधिकारी, हर्टबिटका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारी लगाएतले भुपु सैनिक खानेपानी उपभोक्ता समितिले गरेका कामको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रम समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, सचिव कृष्ण बहादुर शाहीको संचालन तथा उपाध्यक्ष झलक बहादुर मल्लको स्वागतमा सम्पन्न भएको थियो । सोही अवसरमा नगरपालिकाको ५ लाख र उपभोक्ता समितिको १ लाख ४५ हजारको लागतमा १ सय ५० थान डस्टबिन विभिन्न टोल इकाई समितिलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६ शनिबार ००:००  ७ : २४ बजे