मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले अब छिट्टै नै प्रदेश स्तरकै शुद्ध खानेपानीको प्रयोगशाला संचालन गर्ने तयारी गरेको छ । प्रदेश सरकारको सहयोगमा सरसफाई उपभोक्ता समितिले शुद्ध खानेपानीको प्रयोगशाला संचालन गर्ने तयारी गरेको हो । उपभोक्ता समितिले शुक्रबार आयोजना गरेको वार्षिक समिक्षा, सार्वजनिक सुनुवाई तथा डस्टविन वितरण समारोहमा खानेपानीको ल्याव संचालनको तयारी गरिरहेको जानकारी दिइएको थियो ।
प्रदेशमै खानेपानीको स्वच्छता परिक्षण गर्ने ल्याव नहुँदा यस क्षेत्रका उपभोक्तालाई उपभोग्य पानीको परिक्षणमा समस्या परेको छ । वाणगंगा नगरपालिका १ उप्टहवामा रहेको वाणगंगा गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफनो कार्ययोजनामा यसवर्ष खानेपानीको प्रयोगशाला संचालन गर्ने मुख्य कार्यक्रम बनाएको छ ।
प्रदेश साँसद विष्णु पन्थीको पहलमा कपिलवस्तुको वाणगंगामा खानेपानीको प्रयोगशाला (ल्याव) संचालन गर्ने काम अघि बढेको समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले जानकारी दिनुभयो । प्रदेश सरकारको सहयोगमा १ करोडको लागत जडान गरिने प्रयोगशालाबाट पानीमा पाइने १६ किसिमका परिक्षण हुने अध्यक्ष शाहले बताउनुभयो ।
पानीको ल्याव संचालन भएपछि यहाँबाट प्रदेशका सवै जिल्लामा खानेपानी परिक्षणका लागि सहज हुने बताइएको छ । कार्यक्रममा उपभोक्ता समितिले खानेपानीको माग बढ्दो रहेकोले पानीको सहज आपूर्ति र उपलब्धताको लागि अर्को साढे चारलाख घनमिटरको खानेपानी ओभरहेड ट्याङ्क जडान गर्ने योजना बनाएको छ ।
ठुलो क्षमताको नयाँ ओभरहेड ट्याङ्क जडान गरेसंगै खानेपानीको पाइपलाइन विस्तार गरेर वाणगंगा नगरपालिकाका वडा नम्बर १,४ र ३ मा स्वच्छ खानेपानीको सहज पहँुच पूग्ने बताइएको छ । समितिले चालु आर्थिक वर्षमा पूर्वाधार तथा संस्थागत विकास, नयाँ प्रविधीको उपयोग, चारनम्बरमा कार्यालय संचालन, तालिम तथा सरसफाई व्यवस्थापनमा काम गर्ने योजनाका साथ ५ करोड ८२ लाख बढिको कार्यक्रम तय गरेको छ ।
१८ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया