मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा इन्प्याप्ट परियोजना शुरु भएको छ । द लेप्रोसी मिसन नेपालले सञ्चालन गर्ने परियोजनाको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो । २०२४ सम्म सञ्चालन हुने परियोजनालाई लेप्रोसी मिसन नेपाल र वाणगंगा नगरपालिकाले संयुक्त रुपमा सञ्चालन गर्नेछन् ।
कुष्टरोग निवारणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको लेप्रोसी मिसन नेपालले आर्थिक विपन्नतामा पछाडि परेका समुदायमा सवलिकरण, आर्थिक बृद्धिदर उकास्नका लागि काम गर्ने गर्दछ । वाणगंगामा शुभारम्भ गरिएको परियोजनाले पनि यसै सेरोफेरामा आधारित रहेर काम गर्ने परियोजनाका कार्यक्रम संयोजक विष्णु ढुंगानाले जानकारी दिनुभयो ।
कुष्टरोग प्रभावित मध्येको वाणगंगा नगरपालिका जिल्लामा दोस्रो स्थानमा छ । शिवराज नगरपालिका कुष्टरोगबाट प्रभावित जिल्लाको पहिलो नगरपालिका हो । यी दुई नगरपालिकामा द लेप्रोसी नेपालले २०२४ सम्म काम गर्ने छ । वाणगंगामा शुक्रबार परियोजनाको शुभारम्भ गरिए पनि शिवराज नगरपालिकामा तत्कालै शुभारम्भ हुने परियोजनाले जनाएको छ ।
परियोजनाले कुष्टरोग निवारण, कुष्टरोगका कारण शारीरिक अपाङ्ग भई प्रभावित नागरिक तथा अन्य अपाङ्गता भएकाहरुको सवलीकरण, आर्थिक स्तर बृद्धिका लागि विभिन्न समुह तथा सहकारी गठन, कुष्टरोग सम्बन्धि विभिन्न जनचेतनाका कार्यक्रम, वाणगंगा नगरपालिका भित्र छाला रोग सम्बन्धि निशुल्क शिविर, कुष्टरोगबाट प्रभावितको निशुल्क शन्यक्रिया लगायतमा काम गर्ने उद्धेश्य लिएको छ ।
परियोजना सञ्चालनका लागि शुक्रबार वाणगंगा नगरपालिका र द लेप्रोसी मिसन नेपालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा दुवैका तर्फबाट हस्ताक्षर गरिएको थियो ।
वाणगंगा नगरपालिका कुष्टरोग प्रभावित क्षेत्र भएकोले इन्प्याप्ट परियोजनाले रोग निवारणमा महत्वपूर्ण भूमिका खेल्ने आफुहरुले विश्वास लिएको द लेप्रोसी मिसन नेपालका निर्देशक शोभाखर कडेंलले अपेक्षा राख्नुभयो । स्थानीय तह स्थानीय सरकारका रुपमा रहेकोले परियोजना सञ्चालनमा जनप्रतिनिधि, सरोकारवाला, सरकारी कर्मचारी लगायतको साथ पाइनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
परियोजना शुभारम्भ अगाडी कुष्टरोग सम्बन्धि आयोजकले अभिमुखीकरण दिएको थियो । अभिमूखिकरणमा प्रदेश सांसद विष्णु पन्थी, नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, ११ वटै वडाका वडाध्यक्ष, नगर कार्यपालिकाका सदस्य, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वाणगंगा नगरपालिका स्वास्थ्य शाखाका उप प्रमुख कमल ज्ञवालीले नगरपालिका भित्र कुष्टरोगको अवस्थाको सामान्य जानकारी दिनुभएको थियो । हरेक बर्ष कुष्टरोग प्रभावितका लागि आफुहरुले विभिन्न प्रयास गर्दै आइरहेको र यसमा द लेप्रोसी मिसन नेपालले महत्वपूर्ण सहयोग गरेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखिएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले गर्नुभएको थियो ।
१७ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया