मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिका १ वैरियामा मिलन बहुउद्देश्यिय दुग्ध संकलन केन्द्रको सथापना भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ को साढे चार लाख र कृषक समुह सदस्यको तर्फबाट समान साढे चार लाख गरी ९ लाख लगानीमा ५ सय लिटर क्षमताको दुग्ध संकलन केन्द्रको स्थापना भएको हो । विहिबार बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले केन्द्रको उद्घाटन गर्नुभयो ।
उद्घाटनको क्रममा प्रमुख थारुले दुग्ध केन्द्र स्थापनाले विशेष गरेर यस क्षेत्रमा हुने दूधको अभाव चिर्नुपर्नेमा जोड दिँदै उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गरी कारोबार गर्नुपर्ने बताउनु भयो । स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिले काम गर्दा नगरमा धेरै उपलब्धि हासिल भइरहेको भन्दै नगरलाई कृषिमा उदाहरणिय बनाउने गरी आफूहरुले काम गर्ने उहाँको भनाई छ । तत्कालको लागि ५ सय लिटर क्षमतामा केन्द्रको स्थापना भए पनि पछि यसलाई विस्तार गर्न आफूले सक्दो सहयोग गर्ने बताउनु भयो ।
वडा नम्बर १ की वडाध्यक्ष बालकुमारी पन्तले दुग्ध उत्पादक किसानहरु विचौलियको कारण सदैव मारमा पर्ने गरेका कारण आफूले यसका लागि पहल गरेको बताउनु भयो । यसको स्थापना पछि वडा नम्बर १, २ र ४ का दूध उत्पादक किसानले यसबाट लाभ लिन सक्ने बताउनु भयो । वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले दुग्ध केन्द्रको स्थापनापछि किसानले मनग्य लाभ लिन सक्नु पर्ने बताउनु भयो । क्षेत्रीले ढकिया बुन्नेदेखि दूध संकलन केन्द्रहरु स्थापना गरेर राम्रो काम गरेकोमा १ नम्बर वडालाई धन्यबाद दिनुभयो ।
कार्यक्रममा नगरका पशु सेवा शाखा प्रमुख राजकुमार तिवारी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगायतले बोल्दै वडाले राम्रा काम गरेको बताउनु भयो । हरेक काम गर्दा त्यसको पछाडी चुनौतिहरु भए पनि मिलेर काम गर्दा सफल भइनेमा उहाँहरुले जोड दिनुभएको थियो । संस्थाकी अध्यक्ष उषा नेपालले अहिले दुग्ध संकलन केन्द्रको रुपमा यसलाई विकास गरिने र विस्तारै दुग्ध जन्य वस्तुको पनि उत्पादनमा आफूहरुले जोड दिने बताउनु भयो । उषा नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शंकर पौडेलले गर्नुभएको थियो ।
प्रतिक्रिया