८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

धनगढीमा नक्कली नोटको कारोबार गर्ने समातिए



धनगढी ।
कैलालीमा नक्कली नोटको बिगबिगी बढेको छ । केही समय अलिक कम देखिएको नक्कली नोटहरु फेरि विभिन्न स्थानमा देखिन थालेका हुन् । नक्कली नोटको कारोबार गर्नका लागि गिरोह नै सक्रिय भएको प्रहरीले जनाएको छ ।
केही दिन अगाडि पनि धनगढीको पिपलचौतारामा रहेको तरकारी पसलमा नक्कली नोट फेला परेको थियो । एकपछि अर्काे गर्दै धनगढीमा नक्कली नोट फोला पर्न थालेपछि प्रहरीलाई चुनौती थपिएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरीलाई प्रहरीले नक्कली नोट सहितपक्राउ गरेको हो ।
एक हजारका १७ नक्कली नोट दिएर पाँच सय दरका नोट साट्न लागेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ मा रहेको सेती अस्पतालको फार्मेसीमा उनले नोट साट्न लागेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरेको थियो । हुलियाको आधारमा चौधरीलाई प्रहरीले उप–महानगरपालिकाकै वडा नम्बर १ बाट पक्राउ गरेको हो ।

चौधरीको साथबाट एक हजारका थप ४ वटासहित २१ वटा नक्कलीनोट बरामदगरिएको प्रहरीले जनाएको छ । खोटा चलन शीर्षकमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६ शुक्रबार ००:००  ३ : ५० बजे