८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुको होराइजनले पायो मुलुककै ‘उत्कृष्ट मावि’ को अवार्ड, खुसीमा नगर परिक्रमा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा चार सिद्धिपुरस्थित होराइजन आवासीय अंग्रेजी माध्यमिक विद्यालयले मुलुकको ‘उत्कृष्ट मावि’को सम्मान हात पारेको छ । नागरिक एकता समाज काठमाण्डौँले हरेक बर्ष प्रदान गर्ने मुलुकभरका उत्कृष्ट माविहरुको सुचीमा पर्दै होराइजन माविले ‘उत्कृष्ट मावि’ को सम्मान हात पारेको हो । यस बर्ष होराइजनसहित सात प्रदेशका १४ माविहरु उत्कृष्ट घोषित भएका थिए । गत असार २८ गते राष्ट्रिय नाचघर जमलमा आयोजना भएको विशेष कार्यक्रममा पूर्व उपराष्ट्रपति परमानन्द झाले विद्यालयका प्राचार्य बासुदेव घिमिरेलाई सो सम्मान प्रदान गर्नु भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले गरेको मुल्यांकन र सिफारिसको अधारमा समाजले हरेक बर्ष शिक्षातर्फ यो पुरस्कार प्रदान गर्ने गर्दछ । यसै क्रममा यस बर्ष पनि १४ माविहरुलाई सो सम्मान प्रदान गरिएको हो ।
मुलुककै अग्रणी बनाउने योजनाः प्राचार्य घिमिरे
विद्यालयका प्राचार्य बासुदेव घिमिरेले यो सम्मानले कपिलवस्तुवासी र प्रदेश ५ कै गरिमा उचो भएको भन्दै खुसी ब्यक्त गर्नुभएको छ । मायादेवी अनलाइनसंग खुसी साट्दै घिमिरेले भन्नुभयो–“यो उपलब्धि हासिल गर्न खट्ने समस्त संचालक टिम, शिक्षक, विद्यार्थी, अभिभावक र शुभचिन्तकलाई मुरीमुरी धन्यबाद दिन चाहान्छु । यो अवार्डले म खुसीले गद्गद् त छु नै, थप जिम्मेवारी थपिएको महशुस पनि गरेको छु । आगामी दिनमा मुलुककै अग्रणी शैक्षिक प्रतिष्ठानको रुपमा विद्यालयलाई स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।” उहाँले समयको माग अनुसार आफुहरु थप परिमार्जित हुँदै नयाँ नयाँ शैक्षिक कार्यक्रमहरु ल्याएर आउने प्रतिवद्धता समेत जनाउनुभयो । वि.सं २०४८ सालमा स्थापना भएको सो विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म बिभिन्न बिषयमा अध्यापन गराउँदै आइरहेको छ भने बिभिन्न कृयाकलापमा उत्कृष्टता प्रदर्शन गर्दै बिभिन्न अवार्डले विभूषित हुँदै आइरहेको छ ।
वृहत र्याली
यसैबीच गुरु पूर्णिमाको अवसर पारी विद्यालयले मंगलबार वृहत र्याली निकालेको छ भने शुभकामना आदान प्रदान गरेको छ । विद्यालय प्राङ्गणबाट निकालिएको र्यालीले बाणगंगा नगर परिक्रमा गरेको थियो । विद्यालयमा बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले रिवन काटेर उद्घाटन गर्नुभएको र्याली गजेहडा, सिउटी, ओदारी, बग्दी, कोपवा, बनगाई, बोडगाउँ, चारनम्बर, बैरिया, पिपरा हुँदै पुन विद्यालय प्राङ्गणमा फर्किएको थियो ।
र्यालीको उद्घाटन गर्दै क्षेत्रीले होराइजन जिल्लामा मात्र अब्बल नरहेर राष्ट्रमै उत्कृष्ट हुनुले नगरको सान बढेको बताउँदै अझै प्रगतिको कामना गर्नुभएको थियो । र्यालीमा विद्यालय ब्यवस्थापन समितिका उपाध्यक्ष हिमलाल पौडेल, शिक्षा समिति संयोजक रविराज ज्ञवाली, प्राचार्य बासुदेव घिमिरे, शिक्षक, विद्यार्थी र अभिभावक गरी करिब सात सय विद्यार्थी सहभागी थिए । र्यालीको क्रममा विद्यार्थीहरुले ‘होराइजनमा पढ्न पाएकोमा गर्व छ’ ‘हाम्रो मावि हाम्रै सान, बढायो प्रदेशकै पहिचान’ लगायतका नाराहरु लगाएर नाचगान गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७६ मंगलबार ००:००  ८ : ०६ बजे