८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगाको वडा नम्बर ७ मुलुककै तेस्रो विद्युत चुहावट मुक्त क्षेत्र घोषणा



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ विद्युत चुहावट मुक्त वडा घोषणा भएको छ । विहीबार एक कार्यक्रमको आयोजना गरि वडालाई विद्युत चुहावट मुक्त वडा घोषणा गरिएको हो । साथै सोही कार्यक्रममा वडा नम्बर ७ का २ सय ४० घरधनीलाई विद्यूत मिटर हस्तान्तरण गरिएको वडाध्यक्ष गिरीले बताउनु भयो ।
विद्युत चुहावट कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सांसद विष्णु पन्थीले विद्युत चुहावट वडा घोषणाले मात्र नपुग्ने भन्दै विद्युत चुहावट नगर्ने जनताबाट प्रतिबद्धता आउनुपर्ने बताउनुभयो । सांसद पन्थीले वडा नम्बर ७ देशमै तेस्रो विद्युत चुहावट मुक्त वडा भएको भन्दै नगरकै शान भएको बताउनुभयो ।
उहाले यस अघि पनि वडा नम्बर २ विद्युत चुहावट मुक्त वडा घोषणा भएको भन्दै यसले सकारात्मक सन्देश जाने बताउनुभयो । वाणगंगा नगरलाई प्रदेशकै उत्कृष्ट नगर बनाउन सबै एक जुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वाणगंगा नरगपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले अब अन्य वडालाई पनि विद्युत चुहावट मुक्त वडा घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । उहाले नगरलाई समृद्ध बनाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै उपमेयर चक्र अर्यालले वडा नम्बर २ र ७ ले नगरकै शिर उच्च बनाएको बताउनुभयो । कार्यक्रममा बोल्दै विद्युत वितरण केन्द्र तौलिहवाका प्रमुख जयकुमार यादवले नेपालमै झापापछि कपिलवस्तुको वडा नम्बर ७ विद्युत चुहावट मुक्त वडा घोषणा भएको जानकारी दिनुभयो । उहाले चुनावको बेलामा गरेको प्रतिबद्धता पुरा गरेको भन्दै वडा अध्यक्ष विष्णु गिरीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले आफुले चुनावताका जनतामाझ गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताउनुभयो । उहाले अबको ३ वर्षमा वडा नम्बर ७ लाई नमुना वडा बनाउने दाबी गर्नुभयो ।
कार्यक्रममा आर्थिक अभावका कारण विद्युत मिटर जडान गर्न नसकेका २ सय ४० घर धुरीलाई विद्युत मिटर वितरण गरिएकोे थियो । वडा नम्बर ७ नेपालकै तेस्रो र प्रदेशकै दोस्रो विद्युत चुहावट मुक्त वडा घोषणा भएको छ । यस अघि वाणगंगाकै वडा नम्बर २ प्रदेशकै पहिलो विद्युत चुहावट मुक्त वडा घोषणा भएको हो ।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  ६ : ०६ बजे