८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कृष्णनगरको वडा नम्बर ८ र ९ एकैपटक खुल्ला दिसा मुक्त घोषणा



मनिष गुप्ता, कृष्णनगर ।
कृष्णनगर नगरपालिकाको वडा नम्बर ८ र ९ एकै पटक खुल्ला दिसा मुक्त वडा घोषणा भएका छन् । साविकको बहादुरगंज गाविस र अहिलेको कृष्णनगर नगरपालिका वडा न. ८ र ९ मा जम्मा १ हजार ६ सय ७९ घरधुरी मध्ये १ हजार १ सय ५२ घरधुरीमा पक्की चर्पी, १ सय ३५ घरधुरीमा कच्ची चर्पी, २ सय ८८ घरधुरीमा सगोल अर्थात साझा चर्पी रहेको छ भने १ सय १४ घरधुरीमा चर्पी निर्माणधिन अवस्थामा रहेको वडा नं. ९ का सचिव अनवर अहमद खानले प्रतिवेदन पेश गरेका थिए ।
प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्लानै खुल्ला दिसा मुक्त हुन बाकी रहेकाले आ-आफ्नो घरमा चर्पी बनाई नगर, जिल्ला र प्रदेशलाई नै खुला दिसा मुक्त गराउन सहयोग गर्न प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आग्रह गरे । कार्यक्रम वडा न. ८ का वडाध्यक्ष नूर महोम्मद मुसालमानको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन संचारकर्मी सनि उल्लाह धोबीले गरेका थिए । कार्यक्रमको समापन वडा नं. ८ का वडाध्यक्ष राम मिलन चौधरीले दुबै वडा खुल्ला दिसा मुक्त घोषणा संगै गरेका थिए ।
बहादुरगंजवासीको सान अबको पालो पूर्ण सरसफाई अभियान भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा नं. ८ र ९ खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको हो ।

प्रकाशित मिति : १२ असार २०७६ बिहिबार ००:००  २ : ५५ बजे