मायादेवी अनलाइन, कपिलवस्तु ।
वरिष्ठ गायक तथा संगितकार राजनराज शिवाकोटीले शम्भू राई र प्रकाश सपुतबीच भएको ‘गलबन्दी’ विवादले संगित क्षेत्रमा नयाँ वहस सिर्जना गरेको बताउनु भएको छ । कल्पना गरिएभन्दा फरक ढंगले लोक गायक सपूत र वरिष्ठ संगितकर्मी राईबीच विवाद उत्पन्न भएको स्मरण गर्दै गायक शिवाकोटीले ‘गलबन्दी’ विवाद अब कलाकारको आर्थिक अधिकार, प्रतिलिपि अधिकार तथा स्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टी लगायतका विषयमा छुट्टै खालको बहस सिर्जना गरेको बताउनु भयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग कुरा गर्दै गायक शिवाकोटीले विगतमा यस्ता वहस सतहमा आए पनि त्यत्तिकै सेलाएको सम्झना गर्दै यो वहस अब त्यत्तिकै नसेलाउने बताउनु भयो ।
उहाँले भन्नुभयो– “यो त्यत्तिकै सेलाउन्न,सेलाउनु हुँदैन । यसले गीत संगितको नियमन या विकासमा ठोस काम गर्नसक्नु पर्दछ ।” गलबन्दीले दुईपक्षबीच सम्बन्धमा चिसोपना आएको बखतमा सौहार्दपूर्ण वातावरणमा बुधबार ४ बुँदे सहमतिसहित समाधान हुनु सुखद भएको भन्दै शिवाकोटीले यसले अनुज र अग्रज दुवै कलाकारले धेरै कुरा सिक्न आवश्यक रहेको बताउनुभयो ।
फरक प्रसंगमा उहाँले नेपाल सरकारले कलाकारहरुलाई केही दिन नसकेको बताउनु भयो । आफूले दर्जनौँ गीत गाएर करौडौँले देश भित्र तथा बाहिरबाट माया पाए पनि राज्यले आफूलाई केही दिन नसकेकोमा उहाँको दुखेसो छ ।
पछिल्लो समय गायक सपूतले बजारमा ल्याएको ’गलबन्दी च्यातियो’ बोलको गीत राईको ’देउसी भैलो’ एल्बमको ’आउ नाचौं साथी हो कम्मर कसेर..’ सँग मिलेपछि विवाद चर्किएको थियो । दुई गायकको विवादले सामाजिक सञ्जालका साथै संसद्मा समेत चर्चा पाएका थिए । सामाजिक संजालमा यसको पक्ष र विपक्षमा भनाईहरु आएका थिए ।
(सुन्नुहोस रेडियो अन्तर्वार्ता)
प्रतिक्रिया