मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाका ६२ सामुदायिक विद्यालयमा एकैदिन ३४ लाख ७९ हजार एक सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ ।
शिवराज नगर शिक्षा शाखाले दिवसकै रुपमा मनाउँदै एकैसाथ नगरभित्रका ६२ विद्यालयका ८हजार ६सय २२ विद्यार्थीलाई छात्रवृत्ति विरतण गरेको हो । नगरक्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा छात्रवृत्ति र दलित छात्रवृत्ति वितरण गरिएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए ।
पन्थीका अनुसार कक्षा (१–८) अध्ययनरत ६हजार ८सय १३ छात्रालाई २७ लाख २५ हजार २सय रुपैयाँ, कक्षा (१–८) अध्ययनरत १हजार ५सय ६ दलित छात्रलाई कूल ६लाख २ हजार ४ सय तथा कक्षा ९–१० का दलित छात्रा ३सय ३ जनालाई १लाख ५१ हजार ५सय रुपैयाँ वितरण गरिएको छ । कक्षा (१–८) अध्ययनरत छात्रा र दलित छात्रलाई जनही ४सयका दरले छात्रवृत्ति रकम प्रदान गरिएको शिक्षा शाखा प्रमुख पन्थीले जनाए । यस्तै कक्षा (९–१०) अध्ययनरत छात्रालाई जनही ५सय दरले छात्रवृत्ति रकम वितरण गरिएको उनले बताए ।
प्रदेश नं. ५का प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयका छात्राहरुलाई छात्रवृत्ति वितरण गर्दै अभियानको शुरुवात गरेका थिए । डिजिटल कक्षाकोठा उद्घाटन गर्न पुगेका सांसद के.सी.ले कक्षा १ मा अध्ययनरत बालिकाहरुलाई छात्रवृत्ति रकम प्रदान गर्दै यसलाई शैक्षिक सामग्री र पोशाकमा प्रयोग गर्न अभिभावकलाई सुझाव दिएका थिए । यसैगरी शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थी समेत सोही कार्यक्रममा सहभागिता जनाएका थिए ।
१२ असार २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया