८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सरस्वतीमा डिजिटल कक्षाकोठा व्यवस्थापन, प्रदेशसभा सदस्य केसीले गरे उद्घाटन



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका १, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयमा डिजिटल कक्षाकोठा व्यवस्थापन गरिएको छ । स्कूलको शिशु र १ कक्षा गरी दुई वटा कक्षाकोठामा स्मार्टबोर्डसहितको डिजिटल कक्षाकोठा व्यवस्थापन गरिएको छ ।
प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले एक कार्यक्रमका बीच स्क्रीनको आइकनमा स्टिकले क्लिक गरी स्मार्टबोर्ड सुचारु गरे । के.सी.ले आईकनमा क्लिक गरेसँगै स्मार्टबोर्डको स्क्रीनमा आकर्षक बालगीत आउन थालेपछि सानासाना बालबालिकाहरु रमाउन थाले ।
डिजिटल बोर्डको उद्घाटन गर्दै प्रदेश सांसद के.सी.ले सूचना प्रविधिको विकाससँगै अब डिजिटल प्रविधिबाट शिक्षण सिकाई प्रक्रिया आवश्यक रहेकोमा जोड दिए । डिजिटल बोर्डको सही सदुपयोग गरी शिक्षण सिकाईलाई प्रभावकारी बनाउनुपर्ने सांसद के.सी.ले सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि रहेको के.सी.ले बालबालिकालाई जीवनोपयोगी सीप दिनुपर्ने बताए । विद्यार्थीले ९० नम्बर ल्याएर मात्र हुँदैन, उसको व्यवहारमा परिवर्तन ल्याउने खालको शिक्षा आवश्यक हुन्छ । उनले भने – “कक्षाकोठामा डिजिटल बोर्ड झुण्ड्याएर मात्र होइन, यसको भरपूर प्रयोग गरेमा मात्र शैक्षिक गुणस्तर अभिवृद्धि हुन्छ ।” आगामी दिनमा समेत विद्यालयको शैक्षिक विकासमा सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सूचना प्रविधिको आवश्यकता रहेको बताए । नमूना विद्यालय निर्माणका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच सुमधुर सम्बन्ध हुनुपर्ने पन्थीले तर्क राखे । विद्यालयका चौतर्फी विकासमा सुधार ल्याउन सकेमा मात्र शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव रहेको उनले बताए । विद्यालयमा देखिएका समस्यालाई क्रमशः सुधार गर्दै अगाडि बढेमा विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने उनले विश्वास व्यक्त गरे । विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाबाट हुनसक्ने हरेक क्षेत्रमा सहयोग पु¥याउने पन्थीले प्रतिबद्धता जाहेर गरे ।
विद्यालयका अध्यक्ष जगतबहादुर जि.सी.ले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरु नै बढी क्रियाशिल हुनुपर्नेमा जोड दिए । उनले विद्यालयको भौतिक र शैक्षिक वातावरण सुधारका लागि हरेक निकायसँग समन्वय गर्दै आएको बताए । विद्यालयको अग्रगामी विकासका लागि सबैसँग हातेमालो गरी अगाडि बढ्ने अध्यक्ष जिसीले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ असार २०७६ बिहिबार ००:००  ६ : ४१ बजे