८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अर्घाखाँचीमा मनाईयो अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी बिरूद्धको दिवस



बिष्णु कुमार आले, अर्घाखाँची ।
अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करी बिरूद्धको दिवस मंगलबार अर्घाखाँचीको ठाडामा बिबिध कार्यक्रम गरि मनाईएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नारा सहित ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक गणेश बहादुर नरालको नेतृत्वमा ठाडा बर्बोटबाट निस्किएको शिक्षक, शिक्षिका, बिद्यार्थी, जनप्रतिनिधि, स्थानीयबासी, प्रहरी सहितको एक र्याली ठाडा दह बजार परिक्रमा गरि ईलाका प्रहरी कार्यालय अगाडि कोण सभामा परिणत भएको थियो ।
“समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अनुसार ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीको आयोजना गृह मन्त्रालयको साप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा प्रहरी निरिक्षक गणेश बहादुर नरालले लागु औषध सुर्तीजन्य पदार्थ सेवनबाट हुने असरबारे जनचेतनामुलक प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा शिक्षक बिष्णु प्रसाद भट्टराई, हरि घिमिरे, नगर उप प्रमुख टीका रेश्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सडक वरिपरि देखिएका गाँजाका बोट नष्ट गरिएको छ । समाजमा कलिलै उमेरका बालबालिका, बिद्यार्थी, युवायुवतीहरू लागु औषधमा फस्ने गरेकाले यसको नियन्त्रण रोगथाम र न्युनिकरणका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार प्रहरीले गाउँका भद्रभलादमी, शिक्षक, बिद्यार्थी, अभिभावक, बुद्धिजीवी, प्रहरीको हातेमालोमा गाउँटोलमा उम्रिएका गाँजाका बोट फडानी तथा सचेतना कार्यक्रम गर्दै आएको छ ।
आफ्ना छोराछोरी, बिद्यार्थी, युवायुवतीलाई बढ्दो लागुऔषधको प्रयोगबाट बचाउन र समाजमा देखिएका बिकृती बिसंगति हटाउन स्थानीय नागरिक र प्रहरी हातेमालो गरि अघि बढ्नुको बिकल्प नभएको प्रहरी निरिक्षक गणेश बहादुर नरालले बताए । यस्तै लागु औषध भनेको के हो, यसको प्रकार, यसमा फस्नुको कारण, सेवनकर्तामा देखा पर्ने समस्या, यसको समाधानका उपाय, यसको प्रयोगगरे बापत हुने सजायबारे सचेत गराईएको थियो । कार्यक्रममा सयौं जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०७६ बिहिबार ००:००  ६ : १४ बजे